हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त

Posted on: 09 Feb, 2019

रामचन्द्र न्यौपाने | माघ २६, डोल्पा | कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । 

गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्न थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ । 

केही सयम अगाडि रोकिएको हिमपात पुनः बुधबारदेखि शुरुभएर डोल्पा सदरमुकाम दुनै, हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा, मुगुको गमगडी बजार सेताम्य भएका छन् भने आसपासका डाँडापाखा तथा जङ्गल पनि हिउँले ढाकिएका छन् । कर्णाली सदरमुकामदेखि उत्तरी क्षेत्रमा पर्ने उच्च हिमाली भूभागमा तीनदेखि चार फिटसम्म हिउँ जमेको छ । 

लगातार परेको हिमपातका कारण उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिँउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताउनुभयो । 

हिमपातका कारण सञ्चारका साधन अवरुद्ध भएपछि उपल्लो डोल्पामा पर्ने धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डोलगायत बस्ती सदरमुकामबाट सम्पर्कविहीन भएको उहाँको भनाइ थियो । सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । 

बाक्लो हिउँ जमेका कारण हिमपहिरोको जोखिम उत्तिकै बढेको छ । शुक्रबार दिउँसो मात्रै हिमपहिरो खसेर थुनिएको सुलीगाड खोला विस्तारै सञ्चालन भएको शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । 

हिमपातका कारण आवतजावत गर्न कठिन भएकाले अन्य स्थानभन्दा उपल्लो डोल्पावासीमा समस्या बल्झिएको छ । 

त्यस्तै रुकुम, जाजरकोटका पश्चिमी क्षेत्रमा समेत भारी हिमपात भएको छ भने हिउँले त्यहाँको जनजीवन पनि कष्टकर बनेको छ । अघिल्ला वर्षहरुमा पुस माघमा मुस्किलले एक दुई पटक हिमपात हुने गरे पनि यस वर्ष लागातारको हिमपातले स्थानीयवासी त्रस्त भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले बताउनुभयो । 

“हिजो राति शुरु भएको हिमपात अहिले पनि जारी छ, भिरालो जमीनमा बस्ती भएकाले ढुङ्गा तथा पहिरो खस्छ कि भन्ने डरले गाउँवासी नै डराएका छन” उहाँले भन्नुभयो । 

पटक–पटकको हिमपातले लगाइएको अन्नबाली उत्पादनका लागि राम्रो हुने भए पनि बड्दो चिसोका कारण दैनिक हुने कामकाजसमेत ठप्प हुनाका साथै घरआँगनमै बाक्लो हिउँ जमेकाले भित्र÷बाहिर गर्न, धारा–पँधेरो पुगेर पानी ल्याउन र शौचालय जानसमेत समस्या भएको देवकोटाको भनाइ थियो । 

वर्षात्सँगैको हिमपातका कारण गाईवस्तु चर्ने डाँडाकाँडा हिँउले छोपिएको र हिउँदको समयका लागि भण्डारण गरेर राखिएका घाँसपातसमेत सकिएको ठूलीभेरी नगरपालिका निवासी अमर कठायतले बताउनुभयो । शुक्रबार रातिदेखि शुरु भएको हिमपात अहिलेसम्म रोकिएको छैन । लगातारको हिमपातका कारण कर्णालीको तापक्रम शुन्यभन्दा कम भएकाले डोल्पालीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । 

कर्णालीका चारै विमानस्थल बन्द 

शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण कर्णालीका चार वटै विमानस्थल बन्द भएका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि विमानस्थल बन्द भएका हुन्् । 

हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेका कारण आज नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसक्ने समिट एयर नेपालगञ्ज शाखाले जनाएको छ । 

लगातारको हिमपातका कारण धावनमार्गमै बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन्् । हिउँ जमेका कारण जुफाल विमानस्थल पनि अवरुद्ध छ । 

विमानस्थलको धावनमार्गमा दुई फिट हिउँ जमेपछि एकसातासम्म हवाई उडान ठप्प हुनसक्ने अनुमान गरिएको नागरिक उड्डयन प्राधिकरण जुफाल शाखाले गरेकोे छ । हिमपातका कारण दुई दिनदेखि नेपालगञ्जबाट कुनै पनि उडान हुनसकेको छैन । 

जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । “डोल्पा जानका लागि तीन दिनदेखि नेपालगञ्ज विमानस्थलमै जहाज कुरिरहेका छौँ, हिउँले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण डोल्पा जान पाएका छैँनाँै”, नेपालगञ्जमा जहाज कुरिरहनुभएका रमानन्द उपाध्यायले भन्नुभयो । “आज फेरि हिउँ परेकाले एक सातासम्म जान नपाइने अवस्था छ, तीन दिनअघि लिएको टिकट फिर्ता गरेर पैदल जाने तयारी गर्दैछौँ”, उहाँले भन्नुभयो । 

लगातारको हिमपातका कारण कर्णालीका विमानस्थल अवरुद्ध भएको र जिल्ला बाहिर आवतजावत गर्ने आन्तरिक बाटाघाटासमेत बन्द भएकाले कर्णाली मौसमी नाकाबन्दीजस्तै भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!