डोल्पा पदयात्रामा तीन भारतीय पूर्वराजदूत

Posted on: 13 Apr, 2018

चैत ३० डोल्पा | नेपालका लागि तीन भारतीय पूर्वराजदूत जिल्लाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनका लागि आउनुभएको छ । 

नेपालका लागि पूर्वभारतीय राजदूतहरु रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पाको भ्रमणमा यहाँ आउनुभएको हो । यहाँको प्राकृतिक सौन्दर्यता र जैविक विविधताले मन लोभ्याएपछि आफूहरु डोल्पाको सौन्दर्यतासँग रमाउन १५ दिने यात्रामा आएका पूर्वराजदूतहरुले बताएका छन् । 

प्रचुर प्राकृतिक सम्पदा, धार्मिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले डोल्पा घुम्न लालायित भएको पूर्वराजदूत रायले बताउनुभयो । धार्मिक पर्यटकीय महत्व बोकेको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोटमा रहेको श्रीवालात्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पुग्नुभएका रायले यस अघि समेत डोल्पाको भ्रमण गर्नुभएको थियो । उहाँले प्रचार प्रसारको अभावमा डोल्पा ओझेलमा परेको बताउनुभयो । 

डोल्पा शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी, जगदुल्ला ताल, धो ताक्सी उपत्यका, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, यार्सागुम्बा लगायतका कारण चर्चित छ । पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालसँग डोल्पालाई जोड्न आवश्यक रहेको पूर्वभारतीय राजदुुतहरुले बताएका छन् । भारतीय राजदूतावासको रु तीन करोड ३३ लाख सहयोगमा त्रिपूरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माण गरिएको छ । तीनैजना राजदूत जुफाल, त्रिपुराकोट, दुनै, धो ताक्सी, शे फोक्सुन्डो ताल भएर जुफालहुँदै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!