कोभिड–१९ : गोदाममै थन्कियो अदुवा

Posted on: 08 May, 2020

वैशाख २६, डोटी | कोरोना भाइरस रोकथाम तथा निण्न्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा सङ्कलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन । लामो समयदेखि लकडाउन भएका कारण सङ्कलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् । 

कोरोना भाइरसको कहरका कारण अदुवा भारत निकासी गर्न समस्या भएपछि करोडौँ मूल्यको अदुवा जिल्लाको बडिकेदार गाउँपालिका बिपीनगरको गोदाममा राखिएको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार गाउँघरका किसानबाट सङ्कलन गरिएको अदुवा निकासी, पैठारीमा बन्द भएपछि गोदाममै थन्किएको हो ।

व्यापारीले किसानबाट फागुनसम्म अदुवा सङ्कलन गरी चैत महिनादेखि भारतका विभिन्न ठाउँमा निकासी गर्दै आए पनि लकडाउनका कारण निकासी गर्न नसक्दा गोदाममै थन्किएको बडिकेदार गाउँपालिका–१ का अदुवा व्यापारी खड्कबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्कलित अदुवा हामीले चैतदेखि जेठसम्म जिल्ला बाहिर निकासी गर्दै आएका थियौँ । लकडाउनले निकासी गर्न नसक्दा गोदाममै थन्कियो । धेरै दिन थन्किए कुहिने डर छ ।” 

व्यापारीले त्यहाँका गाउँ–गाउँबाट सङ्कलित अदुवा महिनौँदेखि गोदाममै छन् । अदुवा निकासी ठप्प भएपछि जिल्लाबाट अदुवा लैजान नपाएको अदुवा सङ्कलन गर्ने भारतीय व्यापारी राम गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “लाखौँ रकम हालेर अदुवा सङ्कलन गरियो । निकासी गर्नेबेला लकडाउन भएपछि गोदाममै थन्क्याउनु पर्यो । निकै घाटा भएको छ ।”

धेरै दिन त्यत्तिकै अदुवा गोदाममा थन्क्याए बिग्रने भएकाले अदुवा व्यापारीलाई चिन्ताले सताउनुका साथै लगानी डुब्ने डरले पिरोलिएको छ । बारीबाट खनेर अदुवा निकालेपछि धेरै दिन गोदाममा राख्दा तौल पनि घट्ने र कुहिएर जाने भएकाले व्यापारीलाई चिन्ता थपिएको बिपीनगरका स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अदुवा धेरै समय खुला ठाउँ तथा गोदाममा भण्डारण गरेर राख्दा करिब १० प्रतिशत तौल कम हुने गर्छ, समयमै व्यवस्थापन गर्न नसकिए यो वर्ष अदुवा व्यापारीलाई निकै घाटा हुने छ ।” यतिमात्र नभइ भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा व्यापारीले खुल्ला सडकपेटीमा थुपारेका कारण दैनिक अदुवाको तौल घटिरहेको व्यापारीको गुनासो छ । त्यस्तै बजार क्षेत्रमा खुलारूपमा अदुवा राख्नु पर्दा चोरी हुने गरेको उनीहरुको भनाइ छ ।

बिपीनगरमा थुपारिएको करोडौँको अदुवाबाट दैनिक दुई–चार केजीभन्दा बढी अदुवा नास भएर गइरहेको स्थानीय लक्षमणबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा खुलारूपमा अदुवा राखिएको छ, कतिपय छाडा चौपायाले खाएर नोक्सानी गरेका छन् भने कतिपय चोरी हुन थालेको छ ।” जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार गत वर्ष जिल्लामा २४० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट दुई हजार ५०० मेट्रिकटन अदुवा उत्पादन भएको थियो । यहाँ उत्पादित अदुवाको मुख्य बजार भारत हो । अदुवा किसानका मागलाई बिगतदेखि सरकारले उचित सम्बोधन गर्न नसकेका कारण अदुवा खेतीप्रति किसान निरास हुनुपरेको अदुवा व्यवसायीको भनाइ छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!