आज असार १५, दहि चिउरा खाने दिन

Posted on: 29 Jun, 2020

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो । 

आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।

धान दिवसका अवसरमा कृषि क्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले समेत खेतमा रोपाँई लगायतका कार्यक्रमहरु आयोजना गरि यो दिवस मनाउने गरेका छन् । तर यो पटक कोरोना संक्रमणको पहिले जस्तो यो दिनको उल्लास नहुने देखिएको छ ।  मानो रोपेर मुरी फलाउने अवसरका रुपमा देशभरी रोपाँई गरिंदैछ । कोरोना महामारीकै बीच अहिले खेतखेतमा रोपाँईको चटारो छ । आजको दिन खेतमा रोपाई छ भने खाजाको रुपमा दहीचिउराको प्रयोग हुन्छ साथै घरघरमा पनि दहि चिउरा खाने गर्छन्, त्यसो त आजको दिन सहरमै पनि दहीको अत्याधिक माग हुन्छ । 

रोपाँईमा असारको फल मानिने आँप, कटहर सहित दहि र चिउरा खाने चलन पनि छ । यसरी रोपाँईसँगै दहि चिउरा खाने चलन रहेकोले आजको दिनलाई दही चिउरा खाने दिन भनिएको हो । यसरी दहि चिउरा खाँदा शरीरलाई उर्जा प्राप्त हुन्छ । खेतिपातीको हिलोमैलोले शरीर थाक्ने हुँदा दही चिउराले शक्ति प्रदान गर्ने र बाँकी खेतीपाती पनि सजिलै सम्पन्न हुन्छ । दही चिउरा खाँदा गति परिने पनि विश्वास छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!