डोटी समाचारः वृद्धभत्ता बढ्दा खुशीयाली

Posted on: 03 Jun, 2019

विमलबहादुर विष्ट,  जेठ २०, डोटी । ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तामा सरकारले रु एक हजार बढाएपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् । 

सरकारले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तामा रु एक हजार बढाएर रु तीन हजार पु¥याएपछि उनीहरु खुशी भएका हुन् । दिपायल सिलगढी नगरपालिका–४ गैरागाउँकी ६७ वर्षीया देवादेवी कामी खुशी हुँदै भनिन्, “ कमाउने उमेर नभएका ज्येष्ठ नागरिकलाई यसले ठूलो सहयोग पुग्नेछ ।”

देवाको घरमा कमाउने उमेरका एक नाती पनि रोजगारीका लागि विगत लामो समयदेखि भारतमा छन् । घरमा एक्लै भएकी उनलाई घरव्यहार चलाउन तथा खान लाउनमा निकै समस्या परिरहेकोे थियो । सरकारले मासिक रु तीन हजार दिने कुरा सुनेपछि खुशी हुँदै उनले भनिन्, “घरमा कमाउने कोही छैन, भएको एक नाती पनि भारत गएको अहिलेसम्म आएन, के गरी ज्यान पालौ भन्ने अवस्था थियो, सरकारले रु तीन हजार दिने भएपछि जीवन निर्वाहका लागि केही सहज हुन्छ ।”

उनी मात्रै होइन, सरकारले समाजिक सुरक्षा रकममा वृद्धि गरेपछि जिल्लाका अधिकांश ज्येष्ठ नागरिक खुशी भएका छन् । आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै सरकारले रु एक हजारका दरले भत्ता वृद्धि गरेपछि यहाँका ज्येष्ठ नागरिकमा उत्साह छाएको दिपायलका स्थानीयवासी तथा पूर्व दिपायल सिलगढी नगरपालिकाका प्रमुख घनश्यामदत्त पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु कुरो जे जस्तो भए पनि सरकारले वृद्धको भत्ता बढाएर राम्रो र उदाहरणीय काम गरेको छ ।” 

देवा जस्तै जोरायल गाउँपालिका–५ गड्सेराकी ४७ वर्षीया वृद्ध तथा एकल महिला पुनीदेवी विष्ट पनि सरकारले भत्ता बढाएकोमा निकै खुशी छिन् । तीस वर्षे कलिलो उमेरमा श्रीमान् गुमाएकी पुनीको पनि घरमा कमाउने कोही पनि छैन । सधँै गाउँका आफन्त र नातेदारले दिएर जीवन गुजारा चलाउँदै आउनु भएकी उनी सरकारले भत्ता बढाएपछि आफूलाई खान लाउन पुग्ने बताउनुभयो । उनी भनिन्, “अहिलेसम्म अर्कैले दिएको लाए, खाए, अब सरकारले पैसा थपिदियो, महीनाभरी आनन्दसँगै खान लगाउन पुग्नेछ, माग्नुपर्ने अवस्था पनि आउदैन ।” 

त्यस्तै सरकारले भत्तामा वृद्धि गरेको सुनेपछि शिखर नगरपालिका–१ ऐरी गाउँकी ४५ वर्षीया कमलीदेवी ऐर पनि निकै खुशी हुनुभएको छ । घरमा कमाउने छोरा, बुहारी भए पनि कसैले पनि व्यक्तिगत खर्चका लागि रकम नदिने गरेको गुनासो गर्नुभयो । उनले भनिन्, “घरमा कमाउने सबै थिए तर मलाई तपाई यो खर्च गर्नु भनेर कसैले पनि अहिलेसम्म पैसा दिएन, मेरो केही छैन सोचेकी थिए तर सरकारले नै छोरो भएर निस्कियो र पैसा दिने भयो, यो भन्दा ठूलो खुशी के नै होला र ?” घरमै बसी बुढेसकालको दैनिकी चलाउन सजिलो हुने आसामा यहाँका वृद्धवृद्धा हिजोआज निकै खुशी भएका छन् । सरकारले बढाएको सामाजिक सुरक्षा भत्ताले गरीब, असहाय, दलित ज्येष्ठ नागरिकलाई जीवनयापन गर्नमा ठूलो सहयोग पुग्ने काँग्रेस नेता दीपकबहादुर विष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकारले ल्याएको अरु बजेट त खासै गतिलो छैन तर जुन सामाजिक सुरक्षा भत्ता बढायो, त्यो चै सारै राम्रो छ र फलदायी हुनेछ ।” सरकारले जेठ १५ गते आव २०७६÷७७ को बजेटमार्फत तीन हजार वृद्धभत्ता र एकल महिलाको मासिक रु दुई हजार पु¥याएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत कूल रु ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ । यसबाट राज्यको संरक्षण आवश्यकपर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

विपत्बाट बचाउन सेतीमा अभ्यास 

जिल्लामा प्राकृतिक विपद्मा बच्न र बचाउन घटना अभ्यास गरिएको छ । सेती नदीमा अभ्यास भइरहँदा नदी छेउ भएर हिँड्नेयात्री भने एकछिन् अचम्ममा परे, साँच्चै हो की ? तर, त्यो घटना अभ्यास मात्रै थियो । प्राकृतिक विपद्का विभिन्न घटनाबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन नेपाल रेडक्रस सोसाइटी डोटीले विपद् प्रतिकार्यका लागि सामुदायिक पहल कार्यक्रमअन्र्तगत गरिएको कृतिम घटना अभ्यास थियो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहभागितामा गरिएका विभिन्न अभ्यासले धेरै कुरा जान्ने अवसर पाएको दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासीले बताउनुभयो । “सेती नदीमा एक जना मान्छे बचाउँ बचाउँ भन्दै बगिरहेको थियो, प्रहरी र सेनाको उपस्थितिमा तालीम प्राप्त उद्धारकर्ताले उनलाई बचाइरहेको देख्दा कसलाई के भयो भनेर हतारमा दौडेर आए तर, त्यो वास्तविक रहेनछ, हामी त चकित प¥यौ”, स्थानीयवासी शङ्करले भन्नुभयो । 

डोटीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बर्खाको समय शुरु भएकाले प्राकृतिक विपद्का घटना जति बेला पनि घट्न सक्छन्, त्यसैले हामीले यो पूर्व अभ्यास गरेको बताउनुभयो । 

असिनाले लाखौको तरकारीमा क्षति

जिल्लामा शुक्रबार र शनिबार राति परेको असिना पानीले लाखौँको तरकारी तथा फलफूलमा नोक्सानी गरेको छ । शुक्रबार र शनिबार राति करीब दुई घण्टा परेको असिनापानीले यहाँका किसानले लगाएका तरकारी, मकैबाली, फलफूल नष्ट गरेको बडिकेदार गाउँपालिका–१ विपीनगरका स्थानीयवासी रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “असिनाले उम्रिएका मकैका बोट, काँक्रालगायतका तरकारी नष्ट गरेको छ, किसानलाई निकै समस्या भएको छ ।”

असिनाले यहाँका गाउँघरमा रोपाइँ गर्न तयारी अवस्थामा रहेको धानको बीउमा समेत क्षति पु¥याएको केआइसिंह गाउँपालिका– २ का स्थानीयवासी दीपक खवासले जानकारी दिनुभयो । कृषि ज्ञानकेन्द्र सिलगढीले दिएको जानकारी अनुसार जिल्लामा असिनापानीले करीब दुई सय हेक्टर खेतमा लगाइएको तरकारी तथा फलफूलमा नोक्सानी भएको छ । 

विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक 

जिल्लामा रहेका विपन्न तथा असहाय बालबालिकाहरुलाई एक संस्थाले शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेको छ । सामुदायिक विकास केन्द्र, डोटीले दिपालय सिलगढी नगपालिका–८ लडागडा र पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका एक हजार ४०० विपन्न वर्गका बालबालिकालाई आज विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको सो संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो । उक्त संस्थाले वितरण गरेका सामग्रीमा कापी, कलम, झोला, डड्पेन, इरेजर, सापनर औजार लगायतका छन् ।

कूल एक हजार ६२१ जना विपन्न वर्गका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गर्ने योजना रहेकोमा अहिलेसम्म एक हजार ४०० बालबालिकालाई सामग्री वितरण गरिसकिएको सो संस्थाका शिक्षा विकास अधिकृत एकराज बडूले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!