ख्यातीप्राप्त दक्षिणकाली मन्दिर

Posted on: 03 Jul, 2016

दक्षिणकाली नेपालको बागमती अञ्चलको काठमाडौं जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ८२२ वटा घर छन्। काठमाण्डौ शहरको कोलाहल र दुषित वातावरणबाट टाढा यो गाउँ प्राकृतिकरूपमा धनी छ । दक्षिणतिर छैमले, पश्चिमतिर टल्कुडुँडेचौर, उत्तरतिर शेषनारायण र पूर्वतिरको केहि भाग सेतिदेवी गाविसले छोएको यस गाउँ अत्यन्त मनोरम वातावरणमा रहेको छ । यो गाउँमा माता दक्षिणकालीको मन्दिर रहेको छ । जुन विश्वप्रख्यात छ । विशेष गरेर शनिवार र म‌ंगलबारका दिन यस मन्दिरमा ठूलो भिड लागेको हुन्छ । मन्दिरको माथिपट्टी माताको मन्दिर रहको छ । दक्षिणकालीमा विशेष गरेर नेवारी वस्ती रहेको छ । दक्षिणकाली गाउँ मै गोपालेश्वर महादेवको मन्दिर पनि रहेको छ । पुरातात्विक हिसाबले यस मन्दिरले पनि आफ्नै महत्व राखेको छ । यसैगरी यसै गाउँ विकास समितिमा वडा नं‍ १मा पर्ने कोटालटोलमा एसियाकै महत्वपूर्ण नृत्यशैलीमा उभिएको गणेशको मन्दिर रहेको छ जसलाई स्थानीयबासीहरू गोर गणेश मन्दिर भन्ने गर्दछन् ।

भगवान शिवका पत्नी पार्वतीलाई गौरी पनि भनिने र उनैका पुत्र भएका कारण गोर गणेश भएको हो भन्ने स्थानीय कथन रहेको छ । यसै गरी दक्षिणकाली वडा नं २ जसमा कोछुटोल पर्दछ जहाँ तिलविक्रमेश्वर महादेवको मन्दिर रहेको छ । अत्यन्तै पूरानो यस मन्दिरमा बुढानीलकण्ठ भगवानको हुबहु सानो आकारको बुढानीलकण्ठ समेत प्रतिस्थापित रहेको छ । यसैगरी वडा नं‍ ३मा कोटघर, हिर्गा, भिमसेन मन्दिर, झम्केश्वरी मन्दिर लगायतका स्थानहरू छन् जुन फर्पिङ शहरको मुख्य चोक एवम् एतिहासिक दरबार क्षेत्र (लायकु) का रूपमा चिर परिचित छ । यसै झम्केश्वरी मन्दिरको पछाडि पट्टी एतिहासिक भगवती मन्दिर समेत रहेको छ । दक्षिणकाली वडा न‌ं ४को ऐतिहासिक कमलपोखरीको आफ्नै अस्तित्व रहेको छ । एसिया कै सबैभन्दा ठूलो सरस्वतीको मुर्ति यसै स्थानमा रहेको छ । करिब १२०० वर्ष पहिला चोरी भएको यस स्थानको यो मुर्ति चोरले चोर्न नसकि टाउको मात्र चोरेर लगेको र १२०० वर्षपछि विदेशबाट फिर्ता ल्याई हाल संग्रहालयमा सुरक्षित राखिएको छ भने टाउको नभएको सरस्वतीको मूर्ति र गणेशजीको मुर्तिको दर्शन भने आज पनि हामी गर्न सक्छौ । यसै गरी यसै दक्षिणकाली गाविस अन्तर्गत नै पश्चिमतर्फ महालक्ष्मी मन्दिर पनि छ । प्रत्येक महिनाको कार्तिक पूर्णिमाका दिन यहाँ विशेष मेला लाग्ने गर्दछ । आफ्नो मनोकांक्षा पूरा हुनेहरूले यहाँ त्यस दिन भातबाट बनाईएको विशेष बस्तु (गोजाः) यस मन्दिरमा चढाइने गरिन्छ । कार्तिक पूर्णिमादेखि लगातार ४ दिनसम्म महालक्ष्मी लगायतको विशेष कार्तिक नाच नचाइने परम्परा हालसम्म जीवित नै छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!