'हे काल, कहाँ छस् ? चाडैं आइजा, मलाई लैजा'

Posted on: 29 Dec, 2017

“हे काल ! 

कहाँ छस् ? 

चाडैं आइजा । 

मलाई लैजा ।

 म चाडैं मर्न चाहन्छु । 

भयो काल, यो भन्दा बढ्ता बाच्न सक्दिनँ म । 

यो भन्दा बढ्ता दु:ख नदे मलाई । 

मलाई मुसा मार्ने बिष खुवाएर चाडैं मारिदेऊ । “

यो मृत्युको पुकार कुनै चलचित्रको संबाद होइन । न त नाटक र कहानीको एक दृश्य नै । यो पुकार दुबै मृगौलाले काम गर्न छोड्नुभएकी के.आई.सिं गाउँ पालिका वडा नं.४, कारिगाउँ, वायल, डोटी स्थित आफ्नै घरको छाप्रोमा जीउन जिउने सम्पूर्ण आशाहरु तिलान्जली दिनुभई मृत्युको प्रतिक्षा गर्दै जीवनका अन्तिम दिन कुरिरहनु भएकी कसैकी दिदी, कसैकी बहिनी, कसैकी आमा, कसैकी काकी, कसैकी छोरी, कसैकी बुहारी, कसैकी भाउजु, कसैकी श्रीमती अनेक नाताले पोतिनु भएकी ४९ बर्षिया कलसी लुहारको बास्तविक जीवनको पिडा, क्रन्दन अनि दुःख हो । 

हिजोसम्म बाच्ने रहर बोक्दै उपचारको प्रतिक्षा गरेर बसिरहनु भएकी उहाँ गरिबी, बिपन्नता, समस्या र अभावका कारण कुनै बिशेष उपचार नपाएपछि आज कालसँगको लडाईमा हार्ने निश्चित भएपछि, जिउने सबै रहरहरु उडेर गएपछि, आज आफ्नै घरआगँनीमा कालको बाटो कुरेर बसिरहनु भएको छ । 

स्वास फेर्ने प्राण वायु घन बनेर फोक्सोमा बजारी गहिरो चोट दिइरहेको छ । जीवन जिउने आधार खाना बिष बनेर नसानसामा दौडिरहेको छ उहाँको । पाइला टेकिरहेको सारा संसार उहाँलाई पराइ हुन थालिसकेको छ । उनै कलसी लुहार जो आज यस धरतीमा सङ्घर्ष गर्दागर्दै कालसँग पराजय भई मृत्यु कुरिरहनु भएको छ, उहाँको जन्म के.आई.सिं गाउँपालिकाको वडा नं.३, दल्लमा बि.सं.२०२५ सालमा भएको थियो । उहाँ सानै उमेरमा आमाकी टुहुरी हुनुभएको थियो । जिन्दगीमा सुख के हो ? अनुभव समेत गर्न नपाएकी कलसीको बास्तविक जीवन पिडा, सङ्घर्ष र अभावको महासागरको एक उदाहरण हो । उहाँले बिभिन्न कारण उपचार नपाएर मृत्युको शैयामा जीवनको अन्तिम सास फेरिरहनु भएकी कयौं गरिब, बिपन्न, दलित, कमजोर बर्गका नेपाली नारीहरुको प्रतिनिधित्व गर्नुभएको छ । तथापी उहाँ एक प्रितनिधि पात्रमात्र हुनुहुन्छ । उहाँसँगै अभावको जिन्दगी जिइरहेका ६१ बर्षिया उहाँका श्रीमान् जोगे लुहार, २० बर्षिय जेठा छोरा तेज बि.क., १४ बर्षिया कान्छा छोरा शिबी बि.क., जेठी बुहारी र नाती पनि छन् । 


जग्गाको नाममा दुई नाली झुप्रो निर्माण गरेको पाखो जमिन बाहेक केही छैन । उहाँका श्रीमान् जोगे लुहार आधा जिन्दगी भारतको पन्जावमा बिताई नेपाल घर फर्कनु भएको थियो । उहाँले घर फर्केर भाडाकुडाँ जुटाएर आफर (आरन) संचालन गर्नुभएको थियो । त्यसपछिका दिनहरुमा आफरमा भाडाकुडाँ कारेर खलो संकलन गर्नुका साथसाथै बजारबाट फलाम किनेर आसी बाउसा निमार्ण गरी बेचेर जीवन गुजारा गर्नु उहाँको प्रमुख पेसा बनेको थियो । आज पनि सकी नसकी यही पेसा उहाँको परिवारको जीवन गुजाराको बाटो बनेको छ । 

उहाँका जेठा छोरा तेज बि.क. १३ बर्षको नाबालक उमेरमा कक्षा ७ बाट पढाइ छोडेर आमा बुवाका सपनाहरु बिटो बानेर लग्दै भारत जान बाध्य बनेका थिए । उनले भारतको पन्जाब गई ५ बर्ष कोठीमा नोकरी गरेका थिए । १८ बर्षको बाल्यबस्थामा आफ्नो बिबाह खर्च जुटाई आफ्नो गाउँ फर्केर बिबाह गरेका थिए । उनका हाल एक छोरा छन् । बिबाह पछि भने उनी महाराष्ट्र भारतको पुनामा होटेलमा काम गर्दै सानो तिनो खर्च पठाएर घर ब्याबहार चलाउदै आएका थिए । अर्का कान्छा छोरा शिबि बिक गाउँकै सामुदायिक बिद्यालयमा कक्षा ८ मा पढ्दै छन् । उनी पढाइमा जेहेन्दार हुनुका साथै साहित्यमा समेत बिशेष रुचि राख्नेए खालका छन् । शिबिले दर्जन जति कविताहरु कोरी सकेका छन् भने उपन्यास लेखन कार्य समेत थालनी गरी ५० पेज जति लेखिसकेका छन् । तर उनले आमाको हेरचाह र घरयासी काममा जोतिनु पर्ने बाध्यताका कारण उनको लेखन यात्रा भने त्यती सहज छैन । पढाइमा बाधा उत्पन्न हुने देखिएता पनि उनको कडा परिश्रम र मिहिनेतका कारण खासै पढाइमा बाधा उत्पन्न भएको छैन ता पनि थोरा बहुत मनोबैग्यानिक असर भने परेको देखिन्छ । उनी एउटा सफल ब्यक्ति बन्ने राम्रो संकेत देखिन्छ । तर दैवको लिला उनी जीवनमा दुस्खमाथि दुस्ख खपिरहेका छन् । उनी बिगत ९ बर्षको देखि नै बिभिन्न प्रकारका रोग तथा समस्याहरुबाट ग्रसित हुदै आउनु भएकी आफ्नी ममतामयी आमाको स्याहार सम्भार गर्दै आएका छन् । शिबि र शिबिका बुवाले कलसी लुहारको पटक पटक गाउँकै स्थानीय स्वास्थ्य चौकीमै सामान्य औसधोपचार गराउनु भएको थियो । उहाँको रोग सामान्य रुपमा निको हुन्थ्यो तर पूर्ण रुपमा निको हुन सकेको थिएन । त्यसैले धामी झाक्री हेराउने कोराउनेको भर परी १ बर्षसम्म स्वास्थ्य चौकी लगिनु भएन । 


उस्तै पनि स्वास्थ्य चौकी र अस्पतालको उपचारमा भन्दा स्थानीय धामी झाक्री र देवतामा बढि बिश्वास गर्ने हाम्रो समाजमा उहाँको परिवार पनि यो प्रथाबाट अछुतो रहेन । उहाँको बिराम बढ्दै गए पनि स्वास्थ्य चौकी लग्नु भन्दा पनि धामी झाक्री सोधपुछ गर्ने कार्य बढाउदै लगियो । गर्नसम्म हेराइकोराइ गरियो । बिराम दिन प्रतिदिन बल्झदै गएको पत्तै भएन । उहाँ दिनिदनै झनै कमजोर हुदै जान थाल्नुभयो साथै रोगले झनझन् च्याप्दै लग्यो । आर्थिक समस्याका कारण अस्पताल लग्न सकिएन । घरयासी औसधि मुलो र देवी देवता भाकल, हेराउनी कोराउनीको केही सीप नलागेर रोग बल्झदै गई मृत्यका नजिक पुगेपछि दिक्क बन्नुभएका श्रीमान् जोगे लुहारले श्रीमती कलसी लुहारलाई पुनं १ बर्ष पछि मिति २०७४ साल मंसिर ६ गते दुर्गामाण्डौं स्वास्थ्य चौकी पुर्याउनु भयो । दुर्गामाण्डौं स्वास्थ्य चौकीबाट निशुल्क उपचारका लागि वडाको सिफारिस बनाई जिल्ला अस्पताल डोटी गई निःशुल्क उपचार गराउनुपर्ने सल्लाह मिल्यो साथै स्वास्थ्य चौकीले आफू पनि निःशुल्क उपचारका लागि जिल्ला अस्पताललाई सिफारिस पत्र लेखिदियो । 

सोही अनुसार वडाको सिफारिस बनाई उहाँको कान्छो छोरा शिबि बिकले आफ्नो पठनपाठनलाई थाती राखेर सिलगढीसम्म पुग्नका लागि गाडी भाडा रु.२ हजारको जोहो गर्दै आमाको बिराम निको पार्ने झिनो आसालिएर आमालाई डोटी जिल्लाको सदरमुकाममा अबस्थित जिल्ला अस्पतालमा पुर्याए । जिल्ला अस्पतालको सामान्य चेकजाँच पछि उहाँलाई मुटुसम्बन्धी समस्या भएको र मुटुका डाक्टर जिल्ला अस्पतालमा नभएकाले उहाँलाई सेती अंचल अस्पताल धनगढी या त कुनै राम्रो अस्पताल लैजान भनियो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएको बताउदै अस्पतालबाट निरास बनाएर फर्काइयो । सिलगढीबाट निरास भएर दुबै आमा छोरा जिप चढेर दिपायल पुग्नुभयो । दिपायलबाट शिबि बिकले महाराष्ट्र भारतको, हाईलाइन पार्क, रामवाडी नाका, नगर रोड, पुनामा होटेलमा काम गरिरहेका दाजु तेज बिकलाई फोन गरे । दाजु तेज बिकले आमालाई ल्याएर आउन भने साथै आफू पनि धनगढीसम्म आमालाई लिनु आउने कुरा फोनबाटै बताए । यता शिबिले आमालाई धनगढीसम्म लैजानका लागि दिपायलबाट गाडीको टिकट काटे भने उताबाट तेज बिकले पनि धनगढीसम्म आउनका लागि त्यही साझँ ४ बजे पुनाबाट रेलको टिकट काटे । शिबि बिक बसबाट दोस्रो दिन बिहान धनगढी पुगे भने तेज बिक बाटोमै थिए । शिबिले दाइसँग पुनःसल्लाह गरी आमालाई सेती अंचल अस्पताल धनगढी लगे । नाम दर्ता लगायत मेडिकल चेकजाँचका लागि रु.६ सय जति खर्च गरे । सेती अंचल अस्पताल धनगढीमा एक्सरेलगायत चेकजाँचको रिपोर्ट पछि शिबिलाई अलग्गै कोठामा बोलाई उनकी आमालाई मुटु सम्बन्धी समस्या हुनुका साथै दुबै मृगौलामा धेरै असर परेकोले, रोग निदान गर्न नसकिने तर केही समयको लागि औसधी दिएर थोरै पिडा कम गर्न सकिने कुरा बताए । साथै औसधीले निको भएन भने समयसमय डायलसिस गराउनु पर्छ भनियो । शिबि बिकका लागि न त धनगढीमा बस्ने ठगान थियो । न त सहरा दिने आफन्त नै । त्यसैले शिबि बिक आँखा भरि आशुँ, मुटुभरि पिडा, मनभरि निरासाको बादल दौडाउदै अस्पतालको गेटबाट बाहिरिएका थिए । 

समयले आमालाई बचाउने सम्पूर्ण रहरहरु पानीमा बनेका साबुनका फोका फुटेझै फुटाली दिएको थियो । समयले झनै निरास बनाएर पठाएको थियो शिबिलाई ।

बिरामी आमाका सहरा बनेका १४ बर्षिया शिबि बिक निरास हुदै धनगढी बसपार्कमा फर्किए । २ घण्टा बस पार्कमा कुरेपछि झमक्क साँझ परिसकेको थियो । कही कतै चिने जानेका मान्छेहरुको अत्तोपत्तो थिएन । होटेलमा गएर बास बस्ने खर्च थिएन । खल्तिमा खाली पचास रुपैयाँको नोट मात्र बचेको थियो । पुनाबाट दाइ आएर आमाको उपचार गर्न लैजाने र आमाको ज्यान बच्ने झिनो आशा पालेर बसपार्क धनगढीको प्रतिक्षालयमा भोकै पेट रातभरि जाडोले काम्दै बिरामी आमाको स्याहार गरेर बसिरहे शिबि बिक । १२ घण्टाको पर्खाई पछि बल्ल बिहानीले दैलो उघार्दा अर्काे संसारमा पुगेको अनुभूति भएको थियो शिबिलाई । त्यही दिन ठिक दिउँसो ४ बजे ४८ घण्टाको रेल यात्रा गर्दै दाइ तेज बिक धनगढी बसपार्कमा पुगेका थिए । आफ्नी आमाको दयनीय हाल देखेर तेज बिक आमाको घाटीमा पसेर डाको छोडेर रोएका थिए । सँगसगै शिबिले पनि अश्रुधारा बगाएका थिए । तेजले तुरुन्तै आमाई पुना लैजाने योजना बनाए भने शिबिलाई धनगढीबाट दिपायलसम्मको टिकट रु.५ सय र बाटो खर्च दिई घर पठाए । शिबि वायल घर पुगेका थिए भने तेज बिक पराइँभूमिमा कठिन रेलको यात्रा गर्दै तेस्रो दिन आमासँगै पुना पुगेका थिए । आमाको उपचारका लागि पुनामा काम गरिरहेका सबै साथीभाइहरुसँग ऋणदान गरेर ३० हजार भारु जम्मा गरे । आमा कलसीलाई हाईलाईन पार्क, रामवाडी नाका, नगर रोड, पुना स्थित जीवन ज्योत हस्पिटलमा पुर्याए । हस्पिटलले बिराम निको हुने आश्वासन दिई आमालाई ईमरजेन्सी कक्षमा गर्न लगाइयो । पाँच दिनसम्म दैनिक भारु.५ हजारका दरले खर्च गराइयो । पाचौं दिनमा सम्पूर्ण मेडिकल रिपोर्ट आइसके पछि अस्पतालका ईन्चार्ज कन्सल्टिङ फिजिसयन एमडी डा.आरती कापलेले उहाँका छोरा तेजलाई एकान्तमा बोलाई दुबै मृगौलाले काम गर्न छोडेकाले मृगौला प्रत्यारोपण बाहेक अन्य बिकल्प नरहेको नत्र चाडै मृत्यु हुने जवाफ दिएन् । छोरा तेजले आफ्नी आमालाई बचाउनका लागि आफ्नो एउटा मृगौला आमालाई दिने भन्ने प्रस्ताव राखे । तर आमाको दुबै मृगौला फेल हुनुका साथै मुटुमा समेत असर परेकोले मृगौला प्रत्यारोपणको क्रममा ज्यान समेत जान सक्ने र खर्च पनि भारु.८ लाख जति लाग्ने कुरा बताए । जुनसुकै परिस्थितिमा तेज बिक आमालाई बचाउन त मृगौला दिन तयार भएपनि आखिर भारु. ८ लाख जुटाउनु चानचुने कुरा थिएन । अहिलेसम्म गरिएको खर्च पनि ऋणदान गरेरै थियो । तेज बिक एकाएक रङ्मिए । आकाशबाट खसेजस्तै भए । गहभरी आशुँ पारेर निरासहुदै मरणको नजिको यात्रा तय गरेकी प्रिय आमाई अस्पतालको गेटबाट बाहिर ल्याए । हुने खाने र पैसावालले मात्र अस्पतालको सेवा किन्न पाउने यो संसार उसको दुःखमा खित्का छाडेर हासेको अनुभूति गर्दै डेरातिर लम्किए । 

दोस्रो दिन बिहानीले दैलो उघार्न नपाउदै रिक्सा चढेर रेल वे स्टेशन पुगे । साझँ ४ बजेको आफू र आफ्नी बिरामी आमालाई रेलमा चढाएर लखनऊ, पलिया, गौरीफन्टा, धनगढी, दिपायल हुदै वायल सम्म पुगे । वायलसम्म कलसी लुहारको सास त पुग्यो तर बाच्ने रहर मरेर सास पुग्यो । घरमा रुवाबासी चल्यो । परिवारका सम्पूर्ण मनहरुमा दुःखको बादल छायो । मुटुहरुमा पिडाको रगत बह्यो । आज उनै कलसी लुहार मृत्युका दिनहरु कुरेर आफ्नो सानो झुपडीमा दुःखदायी क्षणहरु बिताइरहनु भएको छ । यस जड संसारमा मृत्युसंगको अन्तिम लडाई लडिरहनु भएको छ । निश्चय पनि चाडै एक दिन उहाँको अवसान हुदै छ । उहाँको अवसानले यस संसारका सारा भौतिक सुख, सुबिधा, भोज, मोज, खुशी, आनन्द आदिइत्यादि मुठिभरका पूँजिपति, हुनेखाने, शक्तिसम्पन्न, पहुँचवाला र पैसावालाका लागिमात्र बनाइएका हुन् भन्ने कुरा प्रमाणित गरिदिने छ ।

लेखक:  नर बहादुर कार्की शिक्षण पेशामा आबद्ध छन् । यो वास्तविक लेख कलसी लुहारका कान्छा छोरा शिबि बिकको अनुरोधमा लेखिएको हो ।

माथिको तश्विरमा : मृत्युको आशमा बसेकी कलसीको दाँया तिर जेठो छोरा तेज र बाँयातिर कान्छो छोरा शिबि ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!