बाजुराको जोखिम बस्तीको सर्वेक्षण

Posted on: 25 Jan, 2018

माघ ११, बाजुरा | शहरी तथा भवन डिभिजन कार्यालय डोटीले बाजुराका नौ स्थानीय तहका साविकका अधिकांश गाविसमा बस्ती विकास कार्यक्रमका लागि पहिलो चरणको सर्वेक्षण गरेको छ । 

जोखिममा रहेका गाउँपालिका तथा नगरपालिकाका साविकका गाविस पहिरो गएका र उक्त स्थानमा बस्न योग्य नभएका कारण सरकारले जोखिममा रहेका बस्ती सार्नका लागि पहिलो चरणको सर्वेक्षण गरिएको शहरी तथा भवन डिभिजन कार्यालय डोटीले जनाएको छ । 

बस्ती विकास भवन सर्वेक्षणका लागि तीन वटा टोलीले जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकाका वडाको अवस्था र जोखिमका बारेमा छलफल गरिएको शहरी डिभिजन कार्यालय बाजुराका सवइन्जिनियर शंकर खड्काले बताउनुभयो । 

उहाँले सर्वेक्षणका क्रममा भौतिक सामाजिक आधारभूत तथ्यांक संकलन, आयआर्जन, खनिज पदार्थको सम्भाव्यता अध्ययन र सर्वेक्षण गरिएको बताउनुभयो । सर्वेक्षणमा छरिएर रहेका बस्ती एकीकृत गर्नका लागि स्थानीयवासीको स्वामित्वमा रहेका जग्गा सानो र सिँचाइको सुविधा नभएको पाइएको छ, खड्काले भन्नुभयो । 

भवन उत्तरी भेगका रुगिन, विच्छ्या, वाई, जुकोट, साप्पाटा, गोत्री, कोल्टी, बाँधु साविकका गाविसमा भौगोलिक अवस्थाबारेमा सर्वेक्षण गरिएको छ । यस्तै दहकोट, मार्तडी, जुगाडा, ब्रह्मतोला, कैलाशमाण्डौ, तोली, छतारा, कुल्देवमाण्डौ, काँडा, डोगडी, गुदुखाती, आटिचौर गाविसको अवस्था र बस्ती सार्ने उपयुक्त ठाउँको बारेमा पहिलो चरणमा सर्वेक्षण गरिएको डिभिजन कार्यालय डोटीको भनाइ रहेको छ । 

जोखिममा रहेका बस्ती सर्वेक्षणका केही ठाउँ छुटेका कारण अझै सर्वेक्षण गर्न बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले बताउनुभएको छ । उहाँले जुन बस्ती बढी जोखिममा छ त्यही बस्ती तत्काल सार्न सर्वेक्षण छिटो गर्नुपर्ने बताउनुभएको छ । जिल्ला नै पहिरोको उच्च जोखिममा रहेकाले सदरमुकाम मार्तडी बजारबाहेकका अन्य ठाउँ सार्नुपर्ने बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!