डोटीका उच्च क्षेत्रमा हिमपात, चिसोले जनजीवन प्रभावित

Posted on: 15 Dec, 2018

मङ्सिर २९, डोटी | केही दिनयता देखिको मौसममा आएको परिवर्तनका कारण डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । 

डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेकलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको सायलवासी गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई वस्तु चर्ने ठाउँ पूरै हिउँले ढाकेकाले तिनलाई गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।” 

हिउँ परेका कारण लगाएको बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै लेकाली क्षेत्रमा बसोबास गर्ने किसान भने खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको स्थानीयवासी तिलक बोगटीले जानकारी दिनुभयो । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!