डोटीका कैदीबन्दीलाई सीपमूलक तालीम

Posted on: 14 Jul, 2019

असार २९, डोटी | जिल्ला कारागारका कैदी तथा बन्दीलाई एक महीने विभिन्न सीपमूलक तालीम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिले कैदी तथा बन्दीको आयस्रोत बढाउन बाँसका मुडा बनाउने, जुत्ता सिलाउने, डोरी बनाउनेजस्ता तालीम दिइएको कारागार प्रशासन प्रमुख राजन केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कैदीबन्दीले सीप सिकुन र रोजगार बनुन् भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा हामीले तालीम दिएका हौँँ,तालीम लिएपछि कैदीबन्दीले सिकेको सीप प्रयोगमा ल्याउने छन् ।”

 कारागारका १२ कैदीबन्दीलाई एक महीने जुत्ता सिलाउने तालीम पनि प्रदान गरिएको थियो । तालीम समापनका अवसरमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कैदीबन्दीको क्षमता  वृद्धि तथा आयस्तर वृद्धिका लागि तालीम फलदायी हुने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझीले कैदीबन्दीले सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सके उपलब्धिमूलक हुने बताउनुभयो । सीप सिक्ने कुरा कुनै जाति विशेष र धर्म विशेषको नभई सबैको लागि महत्त्वपूर्ण रहेको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासिले सुझाव दिँदै आगामी दिन सीपमूलक तालीम सञ्चालनमा सहयोग गरिने जानकारी दिनुभयो । 

सोही अवसरमा कारागारभित्र स्थापित पुस्तकालयका लागि जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक कर्णबहादुर बोहराले उपलब्ध गराउनुभएको १४४ पुस्तक हस्तान्तरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक रामनाथले जानकारी दिनुभयो । पच्चीस जनाकोे क्षमता भएको उक्त कारागारमा हाल महिला तथा पुरुष गरी ४८  कैदीबन्दी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!