दादुराविरुद्धको खोप लगाउँदा मृत्यु, आठ वर्षपछि ४० लाख राहत

Posted on: 13 Sep, 2019

भदौ २७, डोटी | पूर्वीचौकी गाउँपालिका वडा नं ५ (साबिकको काडामाण्डौं गाविस) मा विसं २०६९ सालमा दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका चार बालबालिकाका परिवारले राहत पाएका छन् । खोपमा असावधानीका कारण ती बालबालिकाको मृत्यु भएको थियो । मृत्यु भएको आठ वर्षपछि उनीहरुका परिवारले बल्ल आएर राहत पाएका हुन् ।

खोपका कारणले मृत्यु भएका बालबालिकाका परिवारलाई सर्वोच्च्च अदालतले खोप लगाएपछि मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु दश/दश लाख दिन विसं २०७५ असार १४ गते नेपाल सरकारलाई आदेश दिएको थियो । अदालतको आदेशपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत पीडित बालबालिकाका अभिभावकको खातामा उक्त रकम जम्मा गराएको हो ।

मन्त्रालयले मदन भण्डारी फाउण्डेशनका अध्यक्ष लक्ष्मण मलासीमार्फत चार जनाको रु दश लाखका दरले रु ४० लाखको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको हो । प्राप्त रकम बैङ्क खातामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको  प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताउनुभयो । 

विसं २०६९ मा दादुराविरुद्धको खोप लगाएलगत्तै बालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको मृत्यु भएको थियो । ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको विकका बुवा हरिभक्तले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै पटक सबैसँग आग्रह ग¥यौँ तर राहत पाउन सकेका थिएनौँ, अहिले पायौँ खुशी छौँ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!