डोटीमा श्रीमतीमाथि अन्धाधुन्ध कैँची प्रहार गरी हत्या, छोरा छोरीको बिचल्ली

Posted on: 25 Sep, 2019

असोज ८, डोटी | दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । 

हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णकी आमा पार्वतीलाई अहिले आफ्ना नातिनातिनीहरुको साँझ बिहानको भोक मार्ने चिन्ताले गाँजेको छ ।

कृष्णका छोराछोरीको गत असारदेखि पढाइ पनि अलपत्र परेको छ । स्थानीयवासी भरत द्वारियाका अनुसार पार्वतीलाई बाथरोगले ग्रसित बनाएको छ । पावर्तीको घरमा खानलाई अन्नको दाना पनि छैन । काम गरी कमाएर कलिला नातिनातिनालाई पाल्न सक्ने ताकत उहाँमा छैन । 

रक्सीले मातेका बुवाले आखै अगाडी आमाको बिभत्स हत्या गरेको देखेका कृष्णका छोरा छोरी अहिले कसैसँग बोल्न समेत डराउँछन् । आमाको हत्यापछि बिचल्लीमा परेका उनीहरुको पढाईको जिम्मा दिपायल नगर प्रमुख मञ्जु मलासीले लिने प्रतिबद्धता गरेको पार्वतीले बताइन् । 

उनले भनिन्, “नातिनातिनालाई पढाउँछु त भन्नुभएको हो, तर पछि आउनुभएन के पो भयो ।” तत्कालको समयमा नगरपालिका र वडा कार्यालयले किरिया खर्चवापत भनेर पार्वतीका परिवारलाई रु ३५ हजार राहत दिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!