डोटीमा आज रातिदेखि निषेधाज्ञा

Posted on: 04 May, 2021

वैशाख २१, डोटी | जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ ।  कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो ।

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ । अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

जिल्लामा यहाँका सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैँ गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!