बुटवल सहरमा आठ सय थान सौर्यबत्ती जडान

Posted on: 25 Sep, 2016

असोज ९, रुपन्देही । बुटवल उपमहानगरपालिकाको सहरी क्षेत्रमा आठ सय थान सौर्यबत्ती जोडिने भएका छन् । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसङ्ख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । पहिलो चरणमा ५५, दोस्रो चरणमा ३०८ र तेस्रो चरणमा ४६८ सौर्यबत्ती जोडिने र यसका लागि करिब तीन करोड लगानी हुने उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्का बताउनुहुन्छ । 

एक वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा बुटवलका अमरपथ लगायतका क्षेत्रमा ५५ वटा सौर्यबत्ती जडान भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्य बत्ती जडानका लागि ४० प्रतिशत अनुदान दिएकामा उपमहानगरपालिकाले र समुदायले ३०–३० प्रतिशत लगानी व्यहोरेका थिए । अनुदान आएका ३०८ वटा सौर्यबत्ती यही असोज महिनाभित्रै जडान गरिने लक्ष्य छ । 

उपमहानगरपालिकाभित्र करिब रु साढे तीन करोड सौर्य बत्ती जडानमा खर्च गरिएको छ । बुटवल उपमहानगरपालिकाका सबै वडामा सौर्य बत्ती जडान गर्ने योजना भए पनि अहिले भने बजार केन्द्रित गरिएको छ । बजारका उपभोक्ता समितिबाट माग आएकाले प्राथमिकतामा बजारलाई राखिएको योजना अधिकृत डोलराज पौडेल उल्लेख गर्नुहुन्छ । बुटवल उपमहानगरपालिकाले तेस्रो चरणका लागि ४६८ थानमा सौर्यबत्तीे माग गरेको छ । 

बत्ती जडानका लागि टेन्डर आह्वानपछि सम्झौता गर्नै कम्पनीले पाँच वर्षसम्म बत्तीको हेरचाह गर्ने पाँच वर्षपछि बत्तीको हेरचाह गर्ने जिम्मा समुदायमा आउने छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!