बागलुङमा सौर्य सडक बत्ती जडान सुरु

Posted on: 25 Sep, 2016

असोज ९, बागलुङ । बागलुङ नगरका सडकलाई चौबिसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडानको काम सुरु भएको छ । 

स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा सौर्य सडक बत्ती जडानको काम अघि बढेको हो । पहिलो चरणमा नगर क्षेत्रमा एक सय ६९ वटा सौर्य बत्ती जडान गरिने बागलुङ नगरपालिका कार्यालयले जनाएको छ । 

चारवटा उपभोक्ता समिति बनाएर काम अघि बढाइएको कार्यालयका सामाजिक विकास शाखा प्रमुख भीमसेन पन्तले बताउनुभयो । बजार क्षेत्रमा पर्ने वडा नं १, २ र ३ मा कात्तिक मसान्तभित्रमा बत्ती जडान भइसक्ने उहाँको भनाइ छ । दसैँ अगावै एउटा उपभोक्ता समितिको क्षेत्रभित्र बत्ती बालिसक्ने योजना बनाइएको छ । अहिले बत्ती जडानका लागि खम्बा गाड्ने काम धमाधम भइरहेको जनाइएको छ । 

सबैभन्दा बढी वडा नं २ मा ७४ वटा खम्बा गाडिएका छन् । वडा नं ३ मा ५२ र १ मा ४३ वटा खम्बा गाडिएको जनाइएको छ । कुल एक करोड ८० लाख रुपैयाँको परियोजनामा स्थानीय विकास मन्त्रालयको ६५, बागलुङ नगरपालिकाको २० र उपभोक्ताको १५ प्रतिशत लगानी छ । समृद्ध र सुरक्षित बागलुङ नगरको लक्ष्यलाई सौर्य सडक बत्तीले टेवा पुग्ने बागलुङ नगरपालिका कार्यालयका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार उपभोक्ताबाट थप चार सय सडक सौर्य बत्ती माग भएको छ । दोस्रो चरणको कार्यक्रममा उक्त मागअनुसार सौर्य बत्ती जडानको कामलाई विस्तार गरिने उहाँको भनाइ छ । “अहिलेको एक सय ६९ र थप माग भइआएको चार सय बत्ती जडान हुँदा नगरको बजार क्षेत्र पूरै ‘कभरेज’ हुन्छ”, अधिकृत सुवेदीले भन्नुभयो । उपभोक्ताबाट आएको मागलाई मन्त्रालयमा पठाइएको र स्वीकृत भएर आउना साथ मङ्सिरदेखि दोस्रो चरणको काम सुरु हुने उहाँको भनाइ छ । 

जनसहभागितामा आधारित सौर्य सडक बत्ती परियोजनाबाट बागलुङ नगर झिलिमिली हुने भएको छ । सौर्य बत्ती जडानले नगर क्षेत्रका सडकले अँध्यारोबाट मुक्ति पाउनेछन् । बटुवादेखि सवारी आवातजावतसम्मलाई यसले सहजता थप्नेछ । नियमित विद्युत् आपूर्ति नहुँदा पनि सौर्य बत्तीले चौबिसै घन्टा सडकलाई उज्यालो दिनेछ । सरकारले देशभरका सहरी क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न योजना बनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!