सहरी पूर्वाधार निर्माणसम्बन्धी सम्झौता

Posted on: 30 Sep, 2016

असोज १४, धनगढी । धनगढी उपमहानगरपालिका कार्यालय र एसियाली विकास बैंकको आयोजना समन्वय कार्यालयबीच हालै धनगढी उपमहानगर क्षेत्रमा सहरी पूर्वाधार निर्माण गर्नेसम्बन्धी एक सम्झौता भएको छ । 

क्षेत्रीय सहरी विकास आयोजना नाम दिइएको यो पञ्चवर्षीय आयोजनाअन्तर्गत निर्माण हुने सहरी पूर्वाधारहरुमा एसियाली विकास बैंकले सहयोग रहेको बताइएको छ । 

सम्झौताअनुसार धनगढी उपमहानगरपालिका क्षेत्रलाई व्यवस्थित एवम् आकर्षक सहरका रुपमा विकास गर्न आगामी माघ महिनादेखि आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्न लागिएको कार्यकारी अधिकृत रामलाल श्रेष्ठले बताउनुभयो । 

सम्झौताअनुसार धनगढी उपमहानगर क्षेत्रमा ४२ किलोमिटर सडकको स्तरोन्नतिका साथै, ढल निर्माण, फोहरमैला व्यवस्थापन, सामुदायिक पूर्वाधार विकास, सडकमा फुटपाथ निर्माण, सौर्य सडक बत्ती जडान, हरियाली निर्माणलगायतका मुख्य पूर्वाधारका काम गर्न लागिएको छ । 

सम्झौतापत्रमा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्रेष्ठ र एसियाली विकास बैंक आयोजना समन्वय कार्यालयका निर्देशक राजमान मानन्धरले हस्ताक्षर गर्नुभएको छ । 

धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा सुधार, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबास आदि मुख्य समस्याका रुपमा रहेका छन् । 

धनगढी उपमहानगर क्षेत्रमा सडक, खानेपानीलगायतका पूर्वाधारहरु निर्माण हुन नसक्दा कतिपय वडाका बासिन्दा अझै पनि आधारभूत सेवा सुविधाबाट वञ्चित रहेका छन् । 

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई झन्डै एक वर्षअघि साविकको फूलबारी र उर्मा गाविसलाई समेटेर धनगढी उपमहानगरपालिका बनाइएको थियो । यो उपमहानगरको जनसङ्ख्या हाल झन्डै एक लाख ३७ हजार रहेको छ । 

क्षेत्रीय सहरी विकास आयोजना सुदूरपश्चिमको धनगढीबाहेक अत्तरिया, झलारीपिपलाडी र महेन्द्रनगर ९भीमदत्तनगर० नगरपालिकामा पनि कार्यान्वयन हुन लागेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!