दसैँअघि मर्मत हुँदै बागलुङका ९९ सडक

Posted on: 30 Sep, 2016

असोज १४, बागलुङ । वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका छन् । 

जिल्लामा रहेका साबै सडक मर्र्मतका लागि जिल्ला विकास समिति, बागलुङले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै सञ्चालनमा आउने भएका हुन् । 

जिल्लाका ५९ गाविसमा ९९ सडक छन् । एकाधबाहेकका सबै सडक वर्षायाम सुरु भएसँगै बन्द अवस्थामा छन् । गाउँ गाउँसम्म पुग्ने सडक मर्मतका लागि जिविसले रु २६ लाख ६७ हजार रकम विनियोजन गरेको छ । 

सडकको प्रकृति हेरी मर्मतका लागि रु २० हजारदेखि ६५ हजारसम्म रकम विनियोजन भएको जिविसका योजना तथा प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिनुभयो । 

चाडपर्व नजिकिएसँगै ग्रामीण सडकमा यात्रुको चाप बढ्न थालेको र वर्षायामसमेत सकिएका कारण सडक मर्मतका लागी रकम विनियोजन गरेको जिविसले जनाएको छ । सबै सडक मर्मतका लागि विनियोजन गरिएको रकम गाविसको खातामा जाने र गाविसमार्फत काम सम्पन्न गरेपछि रकम भुक्तानी हुनेछ । 

शाक्यका अनुसार गौदीखोला–छेन्तुङ सडक र बुर्तिवाङ–बोङ्गादोभान सडक मर्मतका लागि सबैभन्दा बढी रु ६५÷६५ हजार विनियोजन भएको छ । 

यस्तै बानपादेखि गाजादह बरेङखण्डसम्मका लागि रु ५५/५५ हजार विनियोजन भएको छ । हन्द्राफेरि तमान सडक, भीमगिठे राजकुत सडकका लागि रु ५०÷५० हजार विनियोजन भएको छ । 

मालढुङ्गा बोटे हुँदै माझ बगरसम्म र दोगाडी कुदुङ सडक, रिजालचोक अमरभूमि तारा सडक, बुर्तिवाङ घोषाखानी सडक, कुस्मीसेरा बरेङ सडकका लागि प्रतिसडक रु ४० हजार रकम विनियोजन भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!