झापामा ‘द वल्ड फन पार्क’ सञ्चालनमा

Posted on: 04 Oct, 2016

असोज १८,  झापा । झापासहित पूर्वका पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको ‘द वल्ड फन पार्क’ आजवाट सञ्चालनमा आएको छ । 

शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वरधाम नजिकै रु. दुई करोडको लगानीमा निर्माण गरिएको उक्तपार्कको नेपाली चलचित्रका कलाकार सुनिल थापाले उद्घाटन गर्नुभयो । 

पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागाईं, समीर मोदी र राजनारायण साहको लगानी रहेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले फन पार्क सञ्चालनमा ल्याइएको पार्क सञ्चालन समितिका सदस्य साहले बताउनुभयो । 

एक लाख ८५ हजार वर्गफिटमा फैलिएको उक्त पार्कमा दुई वर्षमाथि उमेर समूहका जो कोहीले पनि भरपुर मनोरञ्जन लिन सकिने जनाएको छ । छिमेकी मित्र राष्ट्र भारतको सिक्किम, दार्जिलिङ, मिरिक र सिलगढी लगायतका पर्यटकलाई लक्षित गर्दै सो पार्क सञ्चालनमा ल्याइएको सञ्चालक साहको भनाइ छ ।

पच्चीस वर्षका लागि जग्गा लिजमा लिएर पार्क निर्माण गरिएको । २० जनाले पार्कमा रोजगारी पाएको पार्क निर्माण समितिका अध्यक्ष जोशीले बताउनुभयो । पार्कमा वनभोजस्थलको समेत व्यवस्था गरिएको छ । पार्कमा वाटरबल, बोटिङ, सुमो स्विट, पेन्ट बल, एटिभीबाहेक रेन्ड डान्स, वाटर जर्ब, बडी जर्ब, मोनोक्रोम रेस्टुरेन्ट र किड्स जोनको सुविधा रहेको बताइएको छ । जुन सेवा पोखरापछि झापामा मात्र रहेको बताइएको छ । 

यसैबीच पार्क उद्घाटन समारोहपूर्व सोमबार राति साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा गायत सुगम पोख्ररेल, शिव परियार, आद्रिन प्रधान, गिरिश खतिवडासहित स्थानीय कलाकारले साङ्गीतिक प्रस्तुति गरेका थिए । पार्कका सञ्चालक समिति सदस्य साहका अनुसार एकै दिनमा पाँच हजार वढीले पार्कको अवलोकन गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!