जुम्लाबाट यस बर्ष १६ करोडको स्याउ निर्यात

Posted on: 07 Oct, 2016

नन्दराम जैशी । असोज २१, जुम्ला । जुम्लाबाट यस बर्ष १६ करोड मुल्य बराबरको स्याउ निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङक अनुसार भदौ महिनाको पहिलो हप्ता देखि हाल सम्म १६ करोड मुल्य बराबरको स्याउ निर्यात भएको हो । 

कार्यालयका योजना अधिकृत बालकराम देबकोटाका अनुसार यस बर्ष उत्पादन भएको स्याउ निर्यात हुने क्रम अँझै जारी रहेकाले निर्यातदर बढ्न सक्ने बताइएको छ । उहाले भन्नुभयो, यस बर्ष उत्पादन भएको स्याउ भदौ महिनादेखि हालसम्म १४ सय टन अर्थात १६ करोड मुल्य बराबरको स्याउ जिल्ला बाहिर निर्यात भैसकेको छ । गत बर्षको तुलनामा यस बर्ष स्याउ उत्पादनमा ह्रास आएपनि स्याउको बजार मुल्य राम्रो पाइएकाले राजस्व बृद्धि हुनुका साथै कृषकको पनि आर्थिक बृद्धि भएको छ, उहाले बताउनुभयो । गत बर्ष २९ सय ५० टन अर्थात १४ करोड मुल्यको स्याउ जिल्ला बाहिर निर्यात भएको थियो । 

कर्णाली राजमार्गको स्तोरउन्नतिसँगै जुम्लाका ग्रामिण भेगसम्म सडक संजाल बिस्तार भएपछि पहिलेको तुलनामा अहिले ब्यपारीहरुलाइ स्याउ निर्यात गर्न निकै सकिलो भएको छ । सडक विस्तारकै कारण पहिले कृषकको घर बगैचामै मुल्य नपाएर थन्कीने गरेको स्याउ हाल देशका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ । भने कृषकले पनि घरमै बसेर राम्रै स्याउको मुल्य पाएका छन् । गत बर्ष मात्र कृषकको बगैचामा ए ग्रेड स्याउको प्रति केजि रु ४० परेकोमा यस बर्ष बगैचामै ए ग्रेड स्याउको प्रति केजि रु ६० ले ब्यापारीले खरीद गरेका छन् । गत बर्षको तुलनामा यस बर्ष स्याउले बाहिरी जिल्लामा पनि राम्रो मुल्य पाएको छ । जुम्लामा ए ग्रेड स्याउको प्रति केजि रु ६० मा विक्रि बितरण भैरहेकोमा नेपालगंज १ सय ५० र काठ्माडौ २ सय ५० रुपैयामा प्रति केजि स्याउ विक्रि भैरहेको छ । 

अहिले जुम्लाको स्याउ सुर्खेत, नेपालगंग, धनगढि, काठमाडौ, विराटनगर, बुटवल लगाएतका नेपालका प्रमुख ब्यापारीक बजारहरुमा बिक्रि बितरण हुने गरेको छ । तर जिल्लाको घोडेमहादेब जस्ता सबै ग्रामिण भेगसम्म सडक विस्तार हुनसके कृषकले डोको तथा भारीमा बोक्ने गरेको स्याउ सजिलै सवारी साधानबाट बजारसम्म पुग्ने थियो । गत बर्षको भन्दा यस बर्ष स्याउ फुल्ने समयमा खडेरी, हुरीबतास, एकै मात्रामा ठुलो असिना र पानि परेका कारण स्याउले खासै उत्पादन दिन नसकेको योजना अधिकृत देबकोटाले भनाइ छ । तर पछि स्याउ उत्पादनको समयमा आवाश्यक मात्रामा पानि पर्नुका साथै घाम लागेका कारण स्याउ थोरै मात्रामा उत्पादन भएपनि गुणस्तरीय उत्पादन भएको उहाले बताउनुभयो । 

साथै यस बर्ष असोज महिनामै उत्पादन भएको जुम्लाबाट ५ क्वीटल ओखर, १५ टन आलु, १० टन प्याज र २५ सय लिटर ढटेलोको तेल पनि जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङकमा उल्लेख गरीएको छ । सबै बस्तुको निर्यात क्रम जारी रहेकाले निर्यातदर बढ्न सक्ने जनाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!