साठी लाख मूल्य बराबरको माला आयात हुने

Posted on: 24 Oct, 2016


कात्तिक ८, काठमाडौँ । नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट रु ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ । 

गत बर्ष तिहारमा रु. एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । 

तिहारमा सबैभन्दा बढी फूलको आयात हुने गरेको छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो — गत वर्ष उपभोक्ताले फूलको प्रतिमाला रु एक सयदेखि एक २० सम्म तिर्नुपरेकोमा यो वर्ष बढीमा रु ८० सम्ममा तिर्नुपर्ने हुन्छ । 

पछिल्लो समय मुलुकले गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ । 

हरेक वर्ष झन्डै रु डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमा मात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ । तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार मुलुकभर तिहारमा मात्र झन्डै रु सात करोड मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । 

नेपालमा सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसाय पनि फस्टाउँदो छ । फूलको माँगमा आएको बृद्धिसंगै यतिखेर काठमाडौँ, ललतिपुर, भक्तपुर, पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म÷नर्सरी विस्तार भइसकेको छ । 

नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ४०० प्रजातिका फूल उत्पादन भइरहेको तथा पुष्प व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!