जाजरकोटको नलगाड जलविद्युत् निर्माणस्थलका जनता भन्छन्– छिटो काम होस्

Posted on: 25 Oct, 2016

कात्तिक ९, सेपुखोला (जाजरकोट) | यहाँको पूर्वी क्षेत्रको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निरीक्षण गरिएको छ ।

ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार उपाध्याय, आयोजनाका कार्यकारी निर्देशक मोती कँुवर, नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडी, स्मेक कन्सलटेन्सीका माइकल लगायतले आयोजना निर्माण स्थलको निरीक्षण गर्नुभएको हो । जलविद्युत्गृह निर्माणस्थल खगेनकोटको दल्लीदेखि सक्ला गाविसको सेपुखोलासम्म निरीक्षण गरिएको हो । 

करिब १० किमी लम्बाइ रहेको सो भूभागको पहुँच मार्ग निर्माणस्थलको पनि अवलोकन गरिएको छ । आयोजनाको निरीक्षणमा आएको सो टोलीलाई मुआब्जाका साथै विस्तृत परियोजना प्रतिवेदन छिटो पूरा गर्न स्थानीयवासीले माग गरेका छन् । अहिले आयोजनास्थलमा पहुँच मार्ग निर्माण तीव्र पारिएको छ भने दल्लीमा आयोजनाको भवन निर्माण जारी छ । अहिलेको सम्भाव्यता अध्ययनले सो आयोजनाबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएको छ । 

ऊर्जाविद्ले एक हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सकिने जिकिर गर्दै आएका छन् । नेपालकै कम लगानीका साथै कम क्षतिमा सो आयोजना निर्माण गर्न सकिने बताइएको छ । 

आयोजना निर्माणस्थलमा कम जग्गा अधिग्रहण हुनेलाई निकै घाटा लागेको र मुआब्जा मार्फत पाएको रकमले अर्को ठाउँमा पुनःस्थापना हुन समस्या भएको सक्ला जुगानाका डिलबहादुर रावलले बताउनुभयो । मुआब्जा मार्फत पाउने रकम एक मुष्ट पाउनुपर्ने यदि नपाइएमा कुनै काम नलाग्ने रावलले बताउनुभयो । सक्ला–१ का जयबहादुर खत्रीले सक्ला लैखमका जनतालाई आयोजनाले उपेक्षा गरेको आरोप लगाउनुभयो । आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने सक्ला–१ का गणेश केसीले माग गर्नुभयो । 

ऊर्जा सचिव उपाध्यायले जाजरकोट अब झाडापखालाको होइन, बिजुलीको जिल्ला भनेर चिनिने बताउनुभयो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन युद्धस्तरमा हुनुपर्ने र यहाँका जलजमिन र जडिबुटीको संरक्षण, आयोजना निर्माण हुँदा विस्थापित हुने स्थानीयवासीलाई रोजगारी दिनुपर्ने नलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले माग गर्नुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!