डिभिजन सहकारीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्री थानीको निर्देशन

Posted on: 26 Oct, 2016

नन्दराम जैशी । कात्तिक १०, जुम्ला । सहकारी तथा गरिवी निवारण मन्त्री ह्रदयराम थानीले डिभिजन सहकारी कार्यालय जुम्लाका कर्मचारीलाई कार्यालयद्धारा दिइने सेवा छिटो छरितो र सरलरुपमा प्रवाह गर्न निर्देशन दिएका छन् । कार्यकर्ता भेटघाट तथा कर्णाली अवलोकनका लागि जुम्ला आएका मन्त्री थानीले मंगलबार डिभिजन सहकारी कार्यालय अनुगमनका क्रममा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।       

उहाँले  सेवाग्राहीलाई सेवा प्रवाह गर्नका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि विभागमा माग गर्न भन्दै सो विषयमा आफु कटिबद्ध भएर लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सहकारी व्यवस्थापनका लागि कर्णालीका ५ जिल्ला हेर्नका लागि एक मात्र डिभिजन कार्यालय सहित आवश्यकता अनुसार शाखा कार्यालय व्यवस्थापन पहल गर्ने मन्त्री थानीले बताउनुभयो । सहकारीले गरिवी निवारणमा सहयोग गर्ने भएकोले यिनै सहकारीहरुको व्यवस्थापनका लागि सहकारी ऐन संसदमा दर्ता भएको र ऐन ल्याएर सहकारी व्यवस्थापनमा सहज हुने सहकारी मन्त्री थानीको भनाई रहेको छ ।   

डिभिजन सहकारी कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद अधिकारीले कर्णाली अञ्चलका पाँच जिल्लामा ६ सय २९ सहकारी संस्थाहरु दर्ता भएका र क्षेत्रधिकार धेरै भएकोले आवश्यक रेखदेख गर्न असहज भएको बताउनुभयो । उहाँले कार्यालयमा आवश्यक स्रोत साधनको अभाव भएकोले त्यसको बन्दोबस्त मिलाई दिन मन्त्री थानी समक्ष आग्रह गर्नुभयो । कर्मचारीको संख्या न्यून र कर्णालीको क्षेत्र धेरै भएकाले डोल्पा र हुम्ला जिल्लाका लागि शाखा कार्यालयको स्थापनाका लागि उहाँले अनुरोध गनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!