गोकर्ण तारेभिर पक्की सडक निर्माण हुने

Posted on: 27 Oct, 2016

दामोदर दाहाल | कात्तिक ११, काठमाडौँ | काठमाडौं जिल्लाको उत्तरी भागमा पर्ने शिवपुरी लेकको काखमा रहेको मनोरन्जानत्मक स्थान तारेभिर जोरपाटी–सुन्दरीजल–गोकर्ण र बुढानिलकण्ठ–पञ्चकुमारी मार्ग हुँदै जान सकिन्छ । यो स्थान रमणीय तथा पर्यटकिय स्थल भएतापनी धेरैलाई यसको बारेमा थाहा छैन, चट्टान आरोहण, लामो पदयात्रा, घरबास, तीर्थाटन आदिको आनन्द लिन यो स्थान अती नै उपयुक्त ठाउँ रहेको छ ।

२०७१ साल माघ १ गते देखी पर्यटनको विकासका लागि सो क्षेत्रलाई चिनाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको थियो । काठमन्डौ क्षेत्र - ३ का माननिय सांसद रामेश्वर फुयालले काठमाडौं उपत्यकाको चार उच्च शिखरहरु मध्ये शिवपुरीको उच्चशिखर तारेभिर पुगेर एउटा घोषणा गर्नु भएको थियो । 

माघ १ गते सम्म तारेभिरमा सडक नपुर्याइ माघे संक्रान्ति नमान्ने

कार्तिकमा सो ठाउँसम्म पुग्नका लागि कच्ची सडकको विकास गर्न सफल हुँदै सडक निर्माणका लागि श्रम अभियान समेत संचालन गरिएको थियो । माननीय रामेश्वर फुयालकै नेतृत्वमा निर्वाचन क्षेत्र विकास कार्यक्रम, जिविस लगायत विभिन्न सरकारी निकायको सहयोगमा सो ठाउमा मोटरबाटो पूर्याएको थियो । सोही वर्षको माघ १ गते पर्यटन विकासको लागि सो क्षेत्रलाई चिनाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको थियो, २०७२ माघ १ गते समेत महोत्सवको अयोजना गरियो । स्थानीय जनताको पहलकदमी तथा गोकर्णेश्वर नगरपालिका र जिविसको सहयोगमा हुने यो महोत्सवमा साँस्कृतिक प्रदर्शनी, थरि-थरिका नेपाली खाना र खाजा, कृषि उत्पादनको बिक्री तथा निःशुल्क घ्यु चाकु खाने कार्यक्रम हुने गर्दछ । स्थानीय जनताले यसलाई निरन्तर रुपमा मनाउदै आएका छन ।

रातो किताबमा समेत यस वर्षदेखी रकम विनियोजनको व्यवस्था गरिएको छ । तारेभिरको अथाह संभावनालाई आर्थिक विकासमा ढाल्ने प्रयास स्वरुप माननीय सांसद रामेश्वर फुयालकै पहलमा गोकर्णदेखि तारेभिर सम्म पुग्न पक्की सडक निर्माण हुने भएको छ साथै भर्खरै टेन्डरको लागि आहव्वान गरिएको छ  ।

प्रकृतिको मनोरम सौन्दर्यका साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यो स्थल धार्मिक भनाइ अनुसार महादेवको तपस्याभूमि हो र वनपैदावारका दृष्टिले अत्यन्त सुलभ स्थान हो । काठमाडौं उपत्यकाको धार्मिक धरोहरको महत्व बोकेको बागमती नदी यसै क्षेत्रको उपजको रुपमा रहेको छ । प्राकृतिक हरियाली, कन्चन तथा शुद्ध पानी, सिमसार क्षेत्रको अत्यन्त ठूलो भण्डार रहेको यो स्थानमा गजधम्म गणेश झैं दक्षिणी पहारमा तारेभीर चन्दागिरी र फुल्चोकीलाई जिस्क्याइ जिस्क्याइ उभिरहेको छ तर पनि मानव सभ्यताको विकासमा यत्रो योगदान गरेको शिवपुरी क्षेत्र र यहाँ अवस्थित तारेभीरलाई मानव समुदायका योजनाकार तथा विकासविद्हरुले यसलाई विश्व वजारमा पुर्याउन त सकेका थिएनन् र यसको महत्वको विशेषतालाई उन्नतिका लागि पूर्वाधार विकास गर्न सकिरहेको थिएन । तामाङ समुदायको बाहुल्यता रहेको यो क्षेत्रको विकासमा ठुलो परिवर्तन हुने निश्चित छ । आगामी दिनमा उनिहरुको आर्थिक उपार्जनका लागि व्यवसायिकरण सिप र पूँजीको विकास हुन सक्यो भने थप मलजल हुनसक्छ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा १३ रोपनी जग्गामा रहेको नागी गुम्बा वि सं २०४७ मा निर्माण भएको हो, यसले अझ यो क्षेत्रलाई पर्यटकीय बनाउन मद्त पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!