झापामा विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान

Posted on: 28 Oct, 2016

कात्तिक १२, सुरुङ्गा(झापा) | नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ । 

चाडपर्वका बेला विद्युत् चुहावट अत्यधिक हुने तथ्यलाई ध्यानमा राखेर चुहावट नियन्त्रणका लागि प्राधिकरणले विशेष अभियान सुरु गरेको होे । विद्युत् चुहावटका कारण चाडपर्वको समयमा ट्रान्सफर्मर बढी बिग्रने गरेकाले चुहावट नियन्त्रण अभियान बिहीबारदेखि सुरु गरिएको केन्द्र प्रमुख राजीवकुमार सिंहको भनाइ छ । 

अभियानअन्तर्गत खुदुनाबारी, शनिश्चरे, चम्पापुर, सुरुङ्गा, दहीझोडा, जुकेखाडी, दुर्गापुर लगायतका क्षेत्रबाट ठूलो परिमाणमा विद्युत् मिटर, मिलमा प्रयोग गरिएका ठूला मोटर र पानी तान्ने मोटरसहित विभिन्न इलेक्ट्रोनिक्स सामग्री बरामद गरिएको केन्द्र प्रमुख सिंहले जानकारी दिनुभयो । 

केन्द्र प्रमुख सिंहका अनुसार खुदुनाबारीबाट विद्युत् चोरी गरी मिल सञ्चालन गरेकै अवस्थामा एक थान मोटर बरामद गरिएको छ । त्यस्तै, घरमा जडान गरिएका मिटरबाट विद्युत् चोरी गरेकाहरुबाट २६ थान मिटर समेत जफत भएको छ । 

त्यसैगरी, सिँचाइका लागि प्रयोग हुने तीन वटा ठूला मोटर बरामद भएको बताइएको छ । एक इञ्चको एउटा मोटर र आधा इञ्चका दुईटा मोटरसमेत अनुगमन टोलीले बरामद गरेको छ । 

प्राधिकरणका इञ्जिनियरका धिरेन्द्र बजगार्इंको नेतृत्वमा गएको टोलीले घरमा जडान गरिएका साउन्ड सिस्टम, राइस कुकर, कालो तारलगायतका सामग्री समेत बरामद गरेको छ । 

पहिलो चरणमा सामान मात्रै बरामद गरिएको र पुनः त्यस्तो भएको पाइए मानिसलाई समेत पक्राउ गरी कानुन बमोजिम कारवाही अघि बढाइने केन्द्र प्रमुख सिंहले बतउनुभयो । 

बिहीबार बरामद सामग्रीको मूल्य चार लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ । झापामा विद्युत् चुहावट दर २२ प्रतिशतबाट अहिले १७ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!