महबाट घरखर्च टार्दै मकवानपुरका चेपाङ महिला

Posted on: 28 Oct, 2016

कात्तिक १२, हेटौँडा | मकवानपुरको विकट गाविस काँकडा–४ का चेपाङ समुदायका महिलाले मह बेचेर घरखर्च टार्ने गरेका छन् । 

काँकडा–४ देवीटारस्थित जन एकता सामुदायिक वन उपभोक्ता समूहमा रहेका २० घर चेपाङ समुदायका महिलाले एक वर्षदेखि सुरु गरेको मौरीपालनबाट उत्पादित मह बेचेको रकमले घर चलाइआएका छन् । यहाँका महिलाले सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, आइयुसिएन र कृषक महासङ्घद्वारा सञ्चालित वन तथा कृषि सहज कार्यक्रमअन्तर्गत मकवानपुरको विकट गाविस काँकडाका चेपाङ महिलालाई लक्ष्य गरेर गठन गरेको देवीटार महिला कृषक समूहमार्फत मौरीपालन गर्दै आइरहेका छन् । 

सामुदायिक उपाभोक्ता महासङ्घले वन तथा कृषि सहज कार्यक्रमअन्तर्गत मकवानपुरमा नमुना कार्यक्रमका रुपमा थालेको मौरीपालन तालिम र घारसहितको मौरी वितरणले पिछडिएका चेपाङ समुदायलाई घरखर्च टार्न सहज बनाएको छ । घारसहितको मौरी पाएपछि चेपाङ समुदायमा आम्दानीको स्रोत थपिएको हो । तर एउटा मात्र घार भने पर्याप्त नभएको र अन्य घार खरिद गर्ने क्षमता आफूहरुसँग नभएको स्थानीयवासीको गुनासो छ । 

विसं २०५९ मा गएको बाढीले खेतबारी पुरिएर मुस्किलले जीविकोपार्जन गर्दै आएको यस समुदायमा मौरीपालनले दैनिक उपभोग्य सामान किन्न सहज बनाएको स्थानीयवासीको भनाइ छ । यसबाट अति आवश्यक नुन, तेल मात्र टरेको स्थिति रहेकाले कार्यक्रमले आम्दानीका थप स्रोत जुटाएदिए हुन्थ्यो भन्छन् उनीहरु । 

केही वर्षपहिला जीविकोपार्जनका लागि वनमा रहेको गिट्ठा सङ्कलनसँगै ज्यालादारी गर्दै आइरहेका चेपाङ समुदायमा कृषक समूह गठन भइसकेपछि समूहमा रहेर काम गनुपर्छ भन्ने चेतनाको विकाससमेत भएको समूहकी सचिव सविता प्रजाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीलाई समूहमा मौरी पाल्दा बेच्न लान पनि सजिलो भएको छ ।” उहाँका अनुसार एकपटक मह निकाल्दा एकदेखि तीन किलोसम्म उत्पादन हुन्छ र सबै घरको सङ्कलन गर्दा बजार लैजान समेत सजिलो परेको छ । 

समूहकी उपाध्यक्ष जुनिमाया प्रजाले संस्थाले दिएको घारसँगै आफैँले काठको तीनवटा घार थपेर मह उत्पादन गरिहरनुभएको छ । उहाँका अनुसार एक घारबाट तीन किलोग्रामसम्म मह उत्पादन हुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले त सिजन होइन । तीनवटैबाट एक किलो मह निस्क्यो । यसले वर्षभरका लागि नुन र तेल पुग्छ ।” तर याममा भने राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ । मह बेच्न मनहरिबजार झर्ने गरेको जुनिमायाको भनाइ छ । 

समूहकै अर्का सदस्य ६० वर्षीया सानुमाया प्रजा महले हाल नुन तेल मात्र टारेको र थप अरू घार या अन्य पशुपालनसम्बन्धी कार्यक्रम आए चेपाङको घरमा दुईछाक खानका लागि अर्काको मजदुरी वा गिट्ठाको खोजीमा समय बिताउन नपर्ने र सबै बच्चा विद्यालय जान पाउने बताउनुहुन्छ । उहाँले मौरीपालन मात्र नभएर यस क्षेत्रमा बाख्रा, पाडोपालनलगायतका कार्यक्रम ल्याउन सामुदायिक वन उपभोक्ता महासङ्घसँग आग्रह गर्नुभयो । 

स्थानीयवासी रामबहादुर प्रजाले भने यस ठाउँमा माछापालनको पनि उत्तिकै सम्भावना रहेको बताउनुहुन्छ । 

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासचिव भारती पाठकले यस पटक किसानले सानो सङ्ख्यामा आफैँ मह उत्पादन गरिरहेको तर अब भने यसलाई सामुदायिक वनसँग जोडेर लामो समयका लागि व्यावसायिक हिसाबले मौरीपालनको कार्यक्रमअगाडि बढाउन खोजिएको बताउनुभयो । 

यसका लागि महासचिव पाठकले सामुदायिक वन उपभोक्ता महासङ्घसँगै जिल्ला विकास कार्यालय, नगरपालिका, वन कार्यालय र भूसंरक्षण कार्यालयले संयुक्तरुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयों । 

विशेषगरी चिउरीको रूख बढी रहेको काँकडा गाविसमा चिउरीको फूल फुल्ने समयमा बढी मह उत्पादन हुने गरेको छ । यस क्षेत्रमा मनहरिबाट समेत चिउरी फुल्ने समयमा मौरी चराउन ल्याइने गरिन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!