पाल्पामा ढाकाको कपडाको कारोबारमा वृद्धि

Posted on: 28 Oct, 2016

कात्तिक १२, पाल्पा । बारा निजगढका धिरज अधिकारीले पसलबाट बुबालाई ढाकाटोपी तथा आमा र दिदीलाई चोलीका लागि ढाका कपडा कोसेली किन्नुभयो । उहाँ मात्र होइन पाल्पा भम्रणमा आउने अधिकांश पर्यटकले ढाकाका कपडा लिएर मात्र फर्किने गरेका छन् । 

तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा वृद्धि भएको हो । यहाँका ढाका कपडाका पसल बिहानैदेखि आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । 

जिल्लामा वार्षिक रु २० करोड बराबरको कारोबार हुने गरेको पाल्पा उद्योग वाणिज्य सङ्घका महासचिव यादव कार्की बताउनुहुन्छ । पाल्पाली ढाकाको माग बर्सेनि बढ्दो छ । “ढाका पसलेले वार्षिक रु पाँच लाखदेखि रु ३० लाखसम्म कारोबार गर्छन्,” उहाँले भन्नुभयो । 

आन्तरिक पर्यटकका कारण ढाका कपडाको कारोबारमा वृद्धि भएको ढाका पसलका सञ्चालक मनोज पौड्यालले बताउनुभयो । “उपहारका रुपमा लैजाने चलन अत्यधिक छ,” उहाँले भन्नुभयो । शौक्षिक भ्रमणमा गर्नेको सङ्ख्या दैनिक बढ्दै जाँदा ढाकाको कपडाको कारोबारमा समेत वृद्धि हुन थालेको छ । 

टोपी, चोली, पछेरामा मात्र सीमित पाल्पाली ढाकामा विविधिकरण भएपछि ढाका कपडाको व्यापार अझै फस्टाउँदै गएको छ । अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट दिन मिल्ने सामान उत्पादन हुन थालेपछि यसको बजार फराकिलो हुँदै गएको पौड्यालको भनाइ छ । 

जाडो याममा बढी मात्रामा ढाकाको कपाडको कारोबार हुन्छ । ढाका कपडा लुम्बिनी, गण्डकी, भेरी, राप्ती, बागमती अञ्चलका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढाका कपडा बुन्ने र ढाकाको तयारी पोसाकसमेत उत्पादन हुन थालेको छ । ढाका कपडामा काम गर्ने अधिकांश महिलाले मासिक रु पाँच हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!