भक्तपुरमा एकसय ६० किलो प्रदूषित मिठाइ नष्ट

Posted on: 28 Oct, 2016

कात्तिक १२, भक्तपुर । तिहार नजिकिएपछि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले अखाद्य वस्तु प्रयोग गरिएका र प्रदूषित देखिएका एकसय ६० किलो मिठाई नष्ट गरेको छ । 

टोलीले विभिन्न स्थानका मिठाई पसलमा गरेको अनुगमनमा भण्डारण गरी बिक्रीका लागि राखिएको कमिला र झिँगा डुबेका र फाहोर मिठाई भेटिएपछि नष्ट गरेको हो । 

अनुगमन टोलीले भक्तपुर नगरपालिका– ४ कमलविनायकमा रहेको विनायक मिठाई भण्डारले बिक्रीका लागि भण्डारण गरेको लाल मोहन, रसबरी, रातो चमचम, सेतो चमचमलगायतका मिठाईमा कमिला, झिगा, भुसुना र साङ्लो डुबेको भेटेपछि नष्ट गरेको खाद्य तथा गुणनियन्त्रण विभागका शङ्कर भण्डारीले बताउनुभयो । 

उक्त मिठाई भण्डारले आवश्यक न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको उहाँको भनाइ थियो । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रवीचन्द्र मिश्रले उक्त मिठाई पसलको भान्छामा सिलबन्दी गर्न लागेपछि सञ्चालकले विरोध गरेका थिए । केहीसमय विवाद भएपछि सो टोली सिलबन्दी नगरी फर्किएको थियो । 

टोलीले कमलविनायकमा रहेको शाक्य मिठाई पसलबाट अखाद्य रङ्ग मिसिएको मिठाई नियन्त्रणमा लिएर नष्ट गरेको छ । कमलविनायकमै रहेको काफ्ले मिठाई भण्डार र सूर्यविनायकमा रहेको लक्ष्मी मिठाई भण्डारमा अनुगमनको क्रममा मूल्यसूची नभएको, आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएको, नाप तौलका उपकरण प्रमाणीकरण नगरेको पाएपछि ती पसलका व्यापारीलाई सचेत गराएको छ । 

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, र खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारी प्रहरी, स्थानीय उपभोक्ता, अधिकावादी एवम् सञ्चारकर्मीको सहभागिता थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!