राहुघाट जलविद्युत्मा स्थानीयलाई लगानीको अवसर

Posted on: 14 Nov, 2016


कात्तिक २९, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । 

सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । 

प्राधिकरणले स्थानीयलाई पनि लगानीको अवसर दिने गरी आयोजनालाई अगाडि बढाउने तयारी गरेको हो । प्राधिकरणले आयोजनाका लागि भारतीय एक्जिम बैंकबाट चार करोड डलर सहुलियतपूर्ण ऋण लिनेछ । तत्काललाई १० प्रतिशत सेयर स्थानीयले पाउने भए पनि प्राधिकरण सञ्चालक समितिको बैठकले त्यसलाई बढाउन पनि सक्ने जनाएको छ । 

आयोजनालाई कम्पनीको मोडेलमा सञ्चालन गर्दा स्थानीयले पनि लगानीको अवसर पाउने र आयोजनालाई सहज रुपमा सम्पन्न गर्न सहयोग पुग्ने राहुघाट आयोजनाका प्रशासकीय अधिकृत काशीराम दाहालले बताउनुभयो । 

विसं २०६७ देखि निर्माण सुरु भएको राहुघाटमा ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै काम नगरेपछि एक वर्षअघि प्राधिकरणले ठेक्का सम्झौता रद्द गरेको थियो । आइभीआरसियलले रु दुई अर्ब ७९ करोड ७८ लाखमा सिभिल, सुरुङ, सडक, विद्युत्गृह र बाँध निर्माण गर्ने सम्झौता गरे पनि तिल्केनीचौरमा अडिंत नम्बर ३ को ६५ मिटर सुरुङमार्ग र एक हजार ८० मिटर मात्रै सडक निर्माण गरेको छ । 

विवादकै कारण स्थगित अवस्थामा रहेको आयोजनाको बाँध र विद्युत्गृहको काम नै सुरु हुन सकेको छैन । सरकारले आयोजनाका लागि पिप्ले, भगवती, दग्नाम र झिं गाविसमा २८२ रोपनी जग्गाको मुआब्जा वितरण गरी अधिग्रहण गरिसकेको छ । छ वर्षमा आयोजनाको समग्र भौतिक प्रगति १२ प्रतिशत मात्रै छ । 

आइभीआरसियलसँग सम्झौता रद्द गरेसँगै गत वैशाखमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ३२ मेगावाट क्षमतालाई बढाएर ४० मेगावाट बनाउने निर्णय गरेको थियो । क्षमता बढेपछि आयोजनाको लागत रु आठ अर्ब ६० करोड पुगेको छ । आयोजनाका प्रमुख कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि रमेशमान श्रेष्ठलाई निमित्त आयोजना प्रमुख तोकिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!