एउटै ठाउँ जोड्ने पाँच सडक आयोजना सञ्चालन

Posted on: 21 Nov, 2016

मङ्सिर ६, म्याग्दी । एकै ठाउँलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँच वटा आयोजना सञ्चालन भएका छन् । 

दलका नेताको स्वार्थ, मुख्य सडकले आफ्नो बस्तीलाई समेट्नुपर्ने स्थानीय बासिन्दाको माग, पहिले खनेको सडक असफल हुनु जस्ता कारणले एउटै ठाउँसँग जोडिने फरकफरक नाम गरेका आयोजना सञ्चालन भएको हो । 

दरवाङदेखि सोले हुँदै बागलुङको लामेला तमान जोड्ने पाँच वटै सडक जिविसमार्फत सञ्चालन भएका हुन् । एउटै ठाउँलाई जोड्ने फरकफरक नाम गरेका आयोजना हुँदा कुन योजनालाई प्राथमिकता दिने भन्ने विषयमा विवाद र अन्यौलता उत्पन्न भएको ओखरबोट गाविसका सचिव रमाकान्त घिमिरेले बताउनुभयो । 

उहाँका अनुसार धेरै योजनामा छरिएर बजेट खर्च हुँदा देखिने गरी उपलब्धि हुन सकेको छैन । भौगोलिक विकटता र प्रतिकूल भूवनोट रहेको ठाउँमा सडक निर्माण गर्नका लागि विनियोजन हुने बजेट विकेन्द्रित गरिँदा योजना अपुरा, उपयोग विहीन र प्राविधिक हिसाबले असफल बनेका छन् । 

रुम र ओखरबोटको भिरालो पाखामा प्राविधिक तथा वातावरणीय पक्षलाई ध्यान नदिइकन सडक निर्माण गरिदा तटीय क्षेत्रका बस्तीमा कटान र बाढीको जोखिम देखिएको छ । सडक निर्माण गर्दा फालिएको माटो मिसिएर रितुङ र दाजुङ खोलामा आउने बाढीले अधिभाराका करिब २० र फूलबारीका ५० घर जोखिममा परेका अधिभाराकी हसिमा पुनले बताउनुभयो । 

विसं २०६७ मा दरवाङदेखि फूलबारी ओखरबोट सोले डाँडा हँुदै लामेला तमान जोड्ने सडक निर्माण भएको थियो । 

त्यसपछि रुमको अदिभारा स्याउलुङ डाँडागाउँ हुँदै सोले जोड्ने लक्ष्यसहित अर्को योजना सञ्चालन भयो । सरकारी निकाय र स्थानीयको रु ५० लाख खर्च भएको उक्त सडक प्राविधिक हिसाबले असफल भएपछि अहिले अलपत्र अवस्थामा छ । 

त्यो आयोजना असफल भएपछि तीन वर्ष लगाएर रु एक करोड ५० लाख खर्च गरेर गत वैशाखमा अधिभारा हँुदै रुमसम्म करिब १५ किलोमिटर सडक निर्माण भएको छ । रुमको ७ नम्बर वडा हँुदै सोले जोड्ने लक्ष्य राखिएको यो सडक स्तरवृद्धि गरी सवारी सञ्चालन हुने अवस्था बनाउन थप रु ५० लाख बजेट आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर पुनले बताउनुभयो । 

त्यसैगरी अधिभारादेखि रुमको ८ र ९ नम्बर वडामा पर्ने इग्रे हँुदै ओखरबोट भएर सोले जोड्ने लक्ष्यले गत वर्ष जिविसको रु २० लाख अनुदानमा सञ्चालित योजना प्राविधिक रुपमा सफल नभएपछि अहिले अलपत्र परेको छ । 

दरवाङ ओखरबोट सोले लामेला तमान सडक आयोजनाका लागि यस वर्ष सडक बोर्डको रु ३३ लाख ६० हजार बजेट छुट्टाएर उपभोक्ता समितिमार्फत काम गर्ने तयारी भएको जिविसका योजना अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो । 

त्यसैगरी ओखरबोटको महभिर, चिउरीबोट, छापका बासिन्दाले पनि दरवाङ फूलबारी चिउरीबोट छाप सोले लामेला तमान सडक आयोजना सञ्चालन गरेका छन् । दुई जिल्ला जोड्ने सडक आयोजनालाई सरकारले बजेट विनियोजनका क्रममा प्राथमिकता दिने भएकाले सबै आयोजनाको पछाडि सोले लामेला तमान जोडिएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!