राष्ट्रपतिद्वारा पतञ्जली आयुर्वेद उद्योगको उद्घाटन

Posted on: 24 Nov, 2016

मङ्सिर ९, प्रसौनी (बारा)  राष्ट्रपति विद्यादेवी भण्डारीले जैविक विविधतायुक्त मुलुक नेपालमा रहेका महत्वपूर्ण जडीबुटीको संरक्षण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । 

बारा जिल्लाको प्रसौनी–९ स्थित पतञ्जली आयुर्वेद प्रालिको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद उद्योग स्थापनाका कारण नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध अझ प्रगाढ भएको बताउनुभयो ।

उद्योगले नेपालमा गरेको लगानी द्विपक्षीय साझेदारीको नमुना बन्न सक्ने उहाँको भनाइ थियो । उद्योगको स्थापनाले रोजगारीको अवसर सिर्जना भई राष्ट्रलाई आन्तरिक रुपमा सक्षम बनाउन मद्दत पुगेको बताउँदै उहाँले यस कार्यका लागि योगगुरु बाबा रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णलाई धन्यवाद दिनुभयो । 

सो अवसरमा कृषिमन्त्री गौरीशङ्कर चौधरीले उच्च पहाडी क्षेत्र जडीबुटीको खानी भएकाले यसलाई उद्योगका रुपमा सदुपयोग गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । योगगुरु रामदेवले अखण्ड नेपालको आर्थिक विकासमा पतञ्जलीले अग्रसरता देखाएको बताउनुभयो । 

एक वर्षभित्रै पतञ्जली उद्योगमा दुई हजार मानिसले रोजगारी पाउने र पाँच÷सात वर्षभित्रै पतञ्जलीको माध्यमबाट थप १० हजार नेपालीले रोजगार पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । आयुर्वेद शिरोमणि बालकृष्णले जडीबुटीमा धनी देश नेपालमा एक ‘रिचर्स सेन्टर’ खोल्ने आफ्नो चाहना रहेको बताउनुभयो । 

सो अवसरमा नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध सरकार र व्यापारीबीच मात्र नभएर दुवै देशबीच सांस्कृतिक र वैवाहिक सम्बन्ध पनि रहेको र यो सम्बन्धलाई पतञ्जलीले प्रगाढ बनाएको बताउनुभयो । 


सो अवसरमा बाबा रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने राष्ट्रपति भण्डारीले पनि योगगुरु रामदेव र आचार्य बालकृष्णलाई सम्मान गर्नुभएको थियो । 

पतञ्जलीद्वारा ५५ उपभोग्य सामान उत्पादन 

पतञ्जली आयुर्वेद उद्योगले ५५ किसिमका उपभोग्य सामान उत्पादन गर्दै आएको छ । 

उक्त उद्योग योगगुरु रामदेवको पतञ्जली योगपीठ र गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोको संयुक्त लगानीमा सञ्चालित छ । उद्योगले जडीबुटी प्रशोधन गरेर विभिन्न प्रकारका खाद्यवस्तुका साथै शृङ्गारका सामग्री उत्पादन गर्दै आएको छ । 

उद्योगलाई चाहिने कच्चा पदार्थमध्ये १० प्रतिशत नेपालमै उपलब्ध हुन्छ भने ९० प्रतिशत कच्चा पदार्थ र रसायन भारतबाट आयात हुने गर्छ । 

विसं २०७२ वैशाखको पहिलो सातादेखि उत्पादन थालेको यस उद्योगमा अहिलेसम्म रु एक अर्ब ६० करोड लगानी भइसकेको छ । उद्योगले वार्षिक करिब रु एक अर्ब बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ । एक वर्षपछि वार्षिक रु चार अर्बदेखि रु पाँच अर्ब सम्मको कारोबार गर्ने लक्ष्य उद्योगले लिएको छ । करिब नौ बिगाहा क्षेत्रफलमा उद्योग फैलिएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!