संस्था भागेपछि साठी लाखको खानेपानी योजना अलपत्र

Posted on: 26 Nov, 2016

मङ्सिर ११, इलाम । साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ । 

विसं २०६४ बाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा योजना छाडेको पाइएको छ । 

फण्डबोर्ड मार्फत राजधानीको छिमेक सेवा संस्थाले निर्माण सुरू गरेको आयोजनामा उपभोक्ताबाट घरलौरी रु एक हजार २०० र गाविसको रु ५० हजार सहयोग लिइएको थियो । तर योजनामा कम गुणस्तरका सामान प्रयोग गरी पानी सञ्चालन नगरी छिमेक सेवा संस्थाका प्रतिनिधि गायब भएका छन् । 

खानेपानीको लागि घरबाट महिना दिनसम्म श्रम दिएको स्थानीयबासिन्दाले बताए । पाइपलाइन विस्तार भएपछि पनि प्राविधिक त्रुटिका कारण पानी सञ्चालन नभएपछि बनाइएका संरचना अलपत्र अवस्थामा छाडेर प्राविधिक भागेका हुन् । 

आयोजना निर्माण समितिका अध्यक्ष फूर्वा घिसिङले आयोजना लथालिङ बनेपछि उपभोक्ताका घरघरमा पाइप र निर्माण सामग्री चोरी भएको जानकारी दिनुभयो । आयोजनाले ३४ वटा धारा निर्माण गर्नुपर्नेमा १४ वटा मात्र निर्माण गरेको र पानी जम्मा गर्ने तीनमध्ये दुई वटा ट्याङ्की निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा छन् । योजना अलपत्र परेपछि मुल सडक खन्दा डोजरले पाइपलाइन नै क्षतविक्षत बनाइदिएको र अन्य निर्माण सामग्री चोरी भएको सचिव कृष्ण तामाङले बताउनुभयो । 

करिब सात किलोमिटर टाढाको मुहानबाट खानेपानी नआएपछि समालबुङका २, ३ र ४ नं वडाका बासिन्दालाई खानेपानीको समस्या भएको छ । यहाँको शान्तिबजार, गैरीगाउँलगायत क्षेत्रमा सुक्खायाममा खानेपानीको अभाव हुने गरेको छ । आयोजनामा फलामको पाइप लगाउनुपर्ने स्थानमा प्लास्टिकको पाइप लगाइएको र सर्भे गलत स्थानबाट भएपछि आयोजना सञ्चालन हुन नसकेको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!