३४ लाखको लगानीमा गाउँमा प्रहरी भवन बन्ने

Posted on: 06 Dec, 2016

अजयकुमार साह । मंसीर २१, उदयपुर । द्वन्द्वकालमा भवन आगजनी भएपछि पुरानो भाडाको घरमा बस्दै आएको उदयुरको  हडिया गाविस स्थित प्रहरी चौकी हडियाको अव नयाँ आधुनिक पक्की भवन बन्ने भएको छ ।

स्थानीयको पुरानो भत्किन लागेको घरमा बस्दै आएको प्रहरी चौकी एकबर्षभित्रमै नयाँ पक्की भवनमा बस्न पाउने भएको हो । भवनका लागि स्थानीय रामप्रसाद चौधरीले करिब ५० लाख बराबरको ३ कठ्ठा जग्गा निःशुल्क दान गरेका छन् ।

आईतबार विधिवतरुपमा प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे र जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसीले संयुक्तरुमा सिलान्यास गर्नुभयो ।

स्थानीय राजनीतिक दल, नागरिक समाज, पत्रकार  र सर्बसाधारणको उपस्थितिमा सिलान्यास गरिएको भवन एकबर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष रहेको निर्माण समितिका अध्यक्ष युवराज राउतले बताउनुभयो । 

३४ लाख लागत स्टिमेटको सो भवनका लागि प्रहरी प्रधान कार्यालयबाट ५ लाख, गाविसबाट २ लाख ३६ हजार उपलब्ध भएको छ । मूख्यरुपमा स्थानीयहरुको जनश्रमदान रहने भवनका लागि स्थानीय सामुदायिक वनहरुले काठ र निर्माण ब्यवसायीहरुले ढुंगा, गिट्टी, बालुवा निःशुल्करुपमा उपलब्ध गराउने भएका छन् । 

भवनको सिल्यास गर्दै प्रमूख जिल्ला अधिकारी घिमिरेले प्रहरीलाई जनताको सहयोग अपरिहार्य रहेको र सहयोगबाटै हडियामा प्रहरी भवन बन्न लागेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले जनतालाई राम्रो शान्ति सुरक्षा दिएर जनताको गुण तिर्न प्रहरीलाई निर्देशन दिनुभयो । त्यसैगरी प्रहरी प्रमूख एसपी केसीले जनता र प्रहरीको सम्बन्ध नङ र मासुको जस्तै रहेको भन्दै दुःखका साथ बसिरहेको प्रहरी चौकीले भवन पाएपछि जनतालाई अझ प्रभावकारी सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!