देउखुरीको लमही मै खुल्ने भयो मालपोत र नापी कार्यालय

Posted on: 13 Dec, 2016

सन्तोषकुमार गुप्ता । देउखुरी, २८ मंसीर । देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयले छिट्टै सेवा प्रवाह गर्ने भएका छन् । जग्गा सम्वन्धि काम लिएर देउखुरीका नागरिक घोराही जानुपर्ने वाध्यता छ । अव लमहीमा मालपोत र नापी कार्यालय स्थापना भएपछी जग्गा सम्वन्धि सेवा लिन घोराही जान नपर्ने भएको हो ।

सेवा केन्द्र स्थापनाको लागि गरिएको पहल साकार भएको र केही दिनमै कार्यालय स्थापना गरेर मालपोत र नापी कार्यालयले लमही वाट सेवा प्रवाह गर्ने सेवा केन्द्र स्थापनाका अभियानकर्ता गंगाराम भट्टराईले जानकारी दिए । भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले लमहीमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय एक वर्ष अघि गरेको थियो । त्यही निर्णयको आधारमा मन्त्रालयले कर्मचारीको दरवन्दी पठाएको छ । मन्त्रालयले मालपोत कार्यालयको लागी २६ जना कर्मचारीको दरवन्दी पठाएको छ ।

यस्तै मन्त्रालयले नापी कार्यालयको लागि १९ जना कर्मचारीको दरवन्दी पठाएको छ । मालपोत र नापी कार्यालय स्थापनाको लागी घरको खोजी भैरहेको लमही मालपोत कार्यालयका मालपोत अधिकृत कृष्ण प्रसाद खरेलले जानकारी दिए । मंसीर २० गते मन्त्रालयले खरेललाई मालपोत अधिकृतको रुपमा जिम्मेवारी दिएको हो । यसैगरी नापी कार्यालयको प्रमुखको रुपमा कृष्णप्रसाद अधिकारी आउने भएका छन् । मालपोत कार्यालयमा एक जना मालपोत अधिकृत, एक जना नायव सुब्बा, एक जना खरीदार र एक जना कम्प्यूटर अपरेटरको पदपुर्ती भैसकेको छ । मालपोत र नापी कार्यालय एकै स्थानमा स्थापनाको तयारी गरिएको हो । रातो डाँडा, बजार क्षेत्र, नगरपालीका आसपासको स्थानमा घरको खोजी भैरहेको छ । दाङ जिल्लामा यो संगै तिन स्थानवाट मालपोत र नापी कार्यालयले सेवा प्रवाह गर्नेछन् । तुलसीपुर सहीत पश्चिम क्षेत्रका नागरिकहरुले तुलसीपुर वाट, घोराही उपत्यकाका नागरिकले घोराही वाट र देउखुरीका नागरिकले लमहीवाट सेवा लिनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!