बागलुङमा सौर्य बत्तीले सडक झिलीमिली

Posted on: 26 Dec, 2016

पुस ११, बागलुङ । सडक बत्तीको अभावमा रातिमा अँध्यारा देखिने बागलुङ नगरका मुख्य सडक अहिले झिलीमिली बनेका छन् । 

नगरलाई चौबीसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडान भएपछि बजारको आकर्षण नै बदलिएको छ । स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा हालसम्म एक सयवटा सौर्य सडक बत्ती जडान भइसकेका छन् । 

पहिलो चरणमा १६९ वटा सौर्य बत्ती जडान गर्ने योजना नगरपालिकाले बनाएको छ । बाँकी ६९ वटा सौर्य बत्ती जडानको काम पनि अघि बढेको छ । चारवटा उपभोक्ता समिति बनाएर जडानको काम भइरहेको कार्यालयका सामाजिक विकास शाखा प्रमुख भीमसेन पन्तले बताउनुभयो । बजार क्षेत्रमा पर्ने वडा नं १, २ र ३ मा पुस मसान्तभित्रै बत्ती जडान भइसक्ने उहाँको भनाइ छ । अहिले बत्ती जडानका लागि पोल गाड्ने काम धमाधम भइरहेको जनाइएको छ । 

वडा नं २ मा ७४ वटा सौर्य बत्ती जडान भइसकेको शाखा प्रमुख पन्तले जानकारी दिनुभयो । “वडा नं २ मा बत्ती जडानको काम पूरा भएको छ, उपभोक्ता समितिले भुक्तानी पनि लगिसकेको छ”–शाखा प्रमुख पन्तले भन्नुभयो । प्रमुख बजार क्षेत्र पर्ने वडा नं २ का सबै सडक अहिले चौबीसै घन्टा उज्याला छन् । वडा नं ३ मा ५२ र १ मा ४३ वटा पोल गाडिसकिएको र बाँकी काम पुस मसान्तभित्र सकिने जनाइएको छ । 

कुल रु एक करोड ८० लाखको परियोजनामा स्थानीय विकास मन्त्रालयको ६५ प्रतिशत, बागलुङ नगरपालिकाको २० प्रतिशत र उपभोक्ताको १५ प्रतिशत लगानी छ । समृद्ध र सुरक्षित बागलुङ नगरको लक्ष्यलाई सौर्य सडक बत्तीले टेवा पुग्ने बागलुङ नगरपालिका कार्यालयका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार उपभोक्ताबाट थप ४०० सडक सौर्य बत्ती माग भएको छ । दोस्रो चरणको कार्यक्रममा उक्त मागअनुसार सौर्य बत्ती जडानको कामलाई विस्तार गरिने उहाँको भनाइ छ । “अहिलेको १६९ र थप माग भई आएको ४०० बत्ती जडान हुँदा नगरको बजार क्षेत्र पूरै ‘कभरेज’ हुन्छ” – अधिकृत सुवेदीले भन्नुभयो । उपभोक्ताबाट आएको मागलाई मन्त्रालयमा पठाइएको र स्वीकृत भएर आउँदा साथ दोस्रो चरणको काम सुरु हुने उहाँको भनाइ छ । 

जनसहभागितामा आधारित सौर्य सडक बत्ती परियोजनाबाट बागलुङ नगर झिलीमिली भएपछि स्थानीयवासी पनि खुसी छन् । सौर्य बत्ती जडानले नगर क्षेत्रका सडकले अँध्यारोबाट मुक्ति पाएका छन् । बटुवादेखि, सवारी आवातजावतसम्मलाई यसले सहजता थपेको छ । नियमित विद्युत् आपूर्ति नहुँदा पनि सौर्य बत्तीले चौबीसै घन्टा सडकलाई उज्यालो दिइरहेको छ । सरकारले देशभरका सहरी क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्ने योजना अघि बढाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!