धनुषा–महोत्तरीका दर्जनौँ पुल जोखिममा

Posted on: 28 Dec, 2016

पुस १३, धनुषा । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा–महोत्तरी जिल्लामा पर्ने एक दर्जनभन्दा बढी पुल जोखिममा परेका छन् । 

धनुषाका बसाइ, औरही, हर्दिनाथ, जलाद, चारनाथ र कमला नदीका पुल र महोत्तरीका रातु, भब्सी, गन्डन्ता, मरहा, ढोलनखोला र बाँके लगायत नदीमा पुलमुनिबाट ढुङ्गा–गिट्टी उत्खनन् गर्ने क्रम तीव्र बढेपछि पुल चाँडै ढल्न सक्ने खतरा बढेको सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले जनाएको छ । 

धनुषामा पूर्वपश्चिम राजमार्गका २९ किमीमा ११ पुल रहेकामा बडहरी बाहेक १० वटा जीर्ण छन् । एक पटक बाढीले बगाएपछि सो पुल चीन सरकार तथा ढल्केवरदेखि पूर्व भारत र पश्चिमका पुल रुस सरकारले बनाइदिएको थियो । विसं २०७१ साउन २८ को राति महोत्तरी र धनुषाको सीमा छुट्याउने रातुखोला पुल अचानक भासियो । पुलको ११ नं स्तम्भ धसिएपछि झन्डै एक महिना यातायात प्रभावित भएको थियो । 

पूर्वी धनुषाको कमलादेखि सर्लाहीको पश्चिमी सीमा वाग्मती नदीसम्म पर्ने राजमार्गको ७७ किमी खण्डमा सानाठूला गरी ४० पुल छन् । तीमध्ये रुस र भारत सरकारको सहयोगमा सन् १९७२ सालमा निर्मित ३९ पुल जर्जर अवस्थामा रहेको सडक डिभिजन कार्यालय जनकपुरले जनाएको छ । कार्यालयका अनुसार यस खण्डको धनुषास्थित बडहरी खोलाको पुलबाहेक सबै पुनः निर्माण गर्नुपर्ने अवस्था छ । 

पूर्वी नेपाललाई राजधानीसँग जोड्ने सो राजमार्गमा सवारीको चाप र समयका हिसाबले पनि यी पुल निकै पुरानो भइसकेका छन् । तराई–मधेसलाई राजधानी काठमाडौँसँग जोड्ने ‘लाइफलाइन’का रुपमा रहेको महोत्तरी सीमामा पर्ने राजमार्गको १७ किमी खण्डमा पर्ने बाँके, ढुलन खोला, भब्सी मरहा, जङ्गहा र रातु पुलसहित १५ पुलको नजिकबाट जथाभाबी ढुङ्गा–गिट्टी उत्खनन गरिएकै कारण पुल कमजोर बनेको हो । 

क्रसर सञ्चालन हुँदा लामो समय नदीबाट अवैध रुपमा ढुङ्गा–गिट्टी झिक्ने गरिएको छ । पुलका स्तम्भको जगसमेत देखिने गरी क्रसर व्यवसायीले उत्खनन गरिरहेका छन् । देशलाई जोड्ने मेरुदण्डजस्तो प्रमुख सडकको पुल मर्मतमा सरकारले गम्भीरता देखाउनुपर्ने स्थानीयवासीको माग छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!