पर्यटकीय नगरी तानसेनमा होटल थपिदैं

Posted on: 31 Dec, 2016

पुस १६, पाल्पा । पर्यटकीय नगरी तानसेनमा बर्सेनि होटल थपिदैं गएको छ । झन्डै रु. करोड भन्दा माथिको लगानीका होटल थपिदै गएपछि सुविधा सम्पन्न होटलको समस्या यहाँ टरेको छ । 

पछिल्लो तीन वर्षको अवधिमा रु. एक करोड भन्दा बढीको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा आएका छन् । सुविधा सम्पन्न होटल निर्माण भएपछि यहाँ पर्यटकको बसाईमा पनि बृद्धि भएको पर्यटन व्यवसायीहरु बताउँछन् । 

पछिल्लो समयमा निर्माण हुने होटलमा पार्किङ, सभाहल, टिभी, फ्रिज वाइफाइ, चिसो तातो पानीलगायतका प्रशस्त सेवा सुविधा रहेको होटल व्यवसायी जीवलाल सुवेदी बताउँनुहुन्छ । 

सुविधा सम्पन्न होटलमा खुलेपछि साना ठूला गोष्ठी तथा सेमिनार गर्नसमेत सजिलो भएको छ । चैत, वैशाखमा यहाँ अत्यधिक गर्मी नहुने भएपछि नेपालगञ्ज, पोखरा, काठमाडौँलगायतका स्थानबाट गोष्ठी तथा सेमिनार सञ्चालनका लागि आउने गरेको व्यवसायीहरु बताउँछन् । 

तानसेनमा होटल ‘द’ ह्वाइटलेक, होेटल श्रीनगर, रोज रिसोर्ट, होटल इन्दे्रणी एन्ड रेष्टुरेन्ट, पाल्पाली छे, मोनिका होटल, होटल अमृत, रक रिजेन्सि गेष्ट हाउस, शुभरात्री गेष्ट हाउस लगायतका दर्जनौं होटल सञ्चालनमा छन् । होटलमा पाल्पाली स्वादमा खाना नास्ताको सुविधाले पर्यटकको मन जित्न सफल भएका हुन । 

पाल्पामा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने भएकाले होटल व्यवसाय फस्टाएको बताउँदै पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले होटल व्यवसायमा हालसम्म तानसेनमा रु एक अर्ब भन्दा बढी लगानीको भएको छ भन्नुभयो । 

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र रुपन्देही जिल्लाको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकाले अगामी वर्षहरुमा यहाँ विदेशी पर्यटक आउने सम्भावना बढी रहेको हुँदा यहाँ होटल व्यवसाय फस्टाउन लागेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!