नेपालगन्ज सदरलाइन सडक विस्तार हुने

Posted on: 11 Jan, 2017

पुस २७, नेपालगन्ज । नेपालगन्ज बजारको सदरलाइन सडक चौडा गर्न स्थानीयबासीले साथ दिने प्रतिबद्धता जनाएपछि सडक विस्तार आयोजना अघि बढने भएको छ । 

नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्ज उपमहानगरपालिका, सरोकारवाला र स्थानीयबासी बीच भएको छलफलमा घरधनीले आफ्नो संरचना आफैं भत्काउने सहमति जनाएपछि सो सडकखण्ड चौडा हुने भएको हो । 

एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाको सहयोगमा सो सडकखण्ड १४ मिटर चौडा गरिने भएको छ । 

सडक विस्तार गर्दा हुने क्षती न्यूनीकरण र सरोकारवालासँगको सहजीकरणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा २२ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ । 

नगरपालिकाका प्रमुख गिरीराज ज्ञवालीले आयोजना संचालनमा स्थानीयबासीको सहयोग नै मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

अपराध नियन्त्रण तथा अनुसन्धान कार्यशाला 

भेरी अञ्चल प्रहरी कार्यालयअन्तर्गतका जिल्लाका प्रहरी अनुसन्धान अधिकृतको एक दिने ‘अपराध नियन्त्रण तथा अनुसन्धान’ कार्यशाला गोष्ठी आज यहाँ आयोजना गरिएको छ । 

अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यातका अनुसार, गोष्ठीमा बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र दैलेख जिल्लाका १३ युनिटका ५५ अनुसन्धान अधिकृतको सहभागिता छ । 

गोष्ठीमा सबै युनिटले छ महिनाको अवधिमा सम्पादन गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै अनुसन्धानका क्रममा देखिएका अप्ठ्याराका विषयमा छलफल गरिएको छ । 

सो गोष्ठीको क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गर्दै प्रहरी अनुसन्धान अधिकृतले घटनाको अनुसन्धान गर्दै धैर्यतालाई छाड्न नहुने बताउँदै हतारमा गरिएको अनुसन्धानले अन्ततः पीडितले दुःख पाउँछन् भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!