धनगढीको आगामी वर्षको बजेट ५० करोड, अधिकांश कुर्चि खाली

Posted on: 13 Jan, 2017


दिनेश ठकुल्ला/पुस २९, धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष  २०७४/०७५ को लागि झण्डै ५० करोड  रुपैया बराबरको  नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले उपमहानगरपालिकाको दोश्रो नगर परिषदले गरेको आगामी आर्थिक वर्षका ४९ करोड ९४ लाख ३४ हजार रुपैया बराबरको बजेट तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्नुभएको हो । 

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा दोव्वरले बढी हो । उक्त बजेटमध्ये करिब ५९ दशमलव ८९ प्रतिशत पुँजीगत बजेट रहेको उपमहानगरपालिकाले जनाएको छ ।

आन्तरिक श्रोतबाट ९ करोड ३७ लाख रुपैया र ४० करोड ५७ लाख २३ हजार बाह्य स्रोत आयबाट प्राप्त हुने प्रक्षेपण कार्यालयले गरेको छ । आन्तरिक आयको रुपमा स्थानीय करको योगदान मात्रै ५ करोड ७५ लाख १५ हजार  रहने उल्लेख गरिएको छ ।  

सडकलगायत पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन लगायतका कार्यक्रमहरुलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता दिइएको कार्यकारी अधिकृत थापाले बताउनुभयो । चालुतर्फ २० करोड ३ लाख ३० हजार र पुजीगततर्फ २९ करोड ९१ लाख ४ हजार रकम छुटयाईएको उहाले जानकारी दिनुभयो । 

पुँजीगततर्फ लक्षित समूह विकास कार्यक्रमको लागि २ करोड ७५ लाख, पूर्वाधार विकासतर्फ नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ४ करोड ५० लाख, क्षेत्रीय विकास कार्यक्रममा ४ करोड ८७ लाख, ठूला पूर्वाधार विकास कार्यक्रममा ३ करोड ३० लाख, फोहोरमैला व्यवस्थापनका लागि १ करोड ५० लाख रुपैया बजेट प्रस्ताव गरिएको छ ।

नगरक्षेत्रमा फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईडको जग्गा खरिदका लागि १ करोड ५० लाख, सीमा क्षेत्र विकास कार्यक्रमका लागि ९७ लाख ७५ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका लागि ८१ लाख ५८ हजार, सौर्य उर्जा कार्यक्रमका लागि ५० लाख, सडक बत्ती व्यवस्थापनका लागि २५ लाख, शहरी स्वास्थ्य केन्द्र सञ्चालनका गर्न १५ लाख विपद व्यवस्थापन कोषका लागि १२ लाख रुपैया छुट्याइएको छ ।

चालुतर्फ सामाजिक सुरक्षा भत्ता वितरणको लागि १४ करोड १३ लाख ५० हजार, उपभोग खर्चमा ३ करोड ९२ लाख ३० हजार, कार्यालय सञ्चालन र सेवा खर्च शीर्षकमा १ करोड ८ लाख ५० हजार, सेवा तथा उत्पादन खर्चमा ४४ लाख ५० हजार, आन्तरिक ऋणको ब्याज भुक्तानी तथा भैपरी खर्चमा २९ लाख र शिक्षा, खेलकुद, स्वास्थ्य, संस्कृति संरक्षणलगायतका सामाजिक कार्यक्रमका लागि १५ लाख ५० हजार रुपैया निवियोजन गरिएको कार्यकारी अधिकृत थापाले जानकारी दिनुभयो ।

धनगढीमा प्रमुख समस्याको रुपमा रहेको अतिक्रमण नियन्त्रणका लागि प्राथमिकता दिने भनिए पनि उपमहानगरपालिकाले ठोस कार्यक्रम ल्याएको छैन । यस्तै अहिले छाडा चौपाया पनि प्रमुख समस्या बन्दै गएको छ तर छाडा चौपाया नियन्त्रणबारे कुनै योजना नरहेको भन्दै नगरबासीले असन्तुष्टि व्यक्त गरेका छन् ।

नगर क्षेत्रभित्र शहरी तथा ग्रामीण क्षेत्रका सडकहरुको निर्माण कार्यलाई विषेश जोड दिईने, नगरभित्र अव्यवस्थित रुपमा रहेका खोका, छाप्रा हटाउने, जमिनको प्लटिड्ड गर्ने कार्यलाई निरुत्साहित पार्ने र उपमहानगरपालिकाको अनुमति नलिई जग्गा प्लटिड्ड गरिएको पाईए कारवाही गर्ने, जाखौर ताल, बेहडाबाबा र शिवपुरी धामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

परिषदले नयाँ कार्यक्रमको रुपमा यातायातका साधानमा डस्टविन राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनको पहल गर्ने जनाएको छ । यात्रुले जथावाभि फोहोर फाल्ने प्रवृतिलाई निराकरण गर्न बसपार्कलगायत अन्य स्थानमा फोहोर फाल्ने स्थान तोक्ने उल्लेख गरिएको छ । 


धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिईएको र सबै क्षेत्रलाई समेट्न नसकिएको भन्दै परिषदमा सहभागि नगरबासीले उपमहानगरपालिकाको आलोचना गरेका छन् । 

धनगढी उपमहानगरपालिका–१५, सुमि टोलका यज्ञमान पुरीले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिईएको र सबै ठाउँका समस्यालाई नसमेटिएको बताउनुभयो । कुनै ठाउँलाई प्राथमिकता दिइएको र कुनै ठाउँलाई उपेक्षा गरिएको उहाले बताउनुभयो । सुदूरपश्चिमकै एकमात्र उपमहानगरपालिकाको विकासको लागि कुनै ठास योजना तथा कार्यक्रम नआएको धनगढी–५, का बासिन्दा लक्ष्मणदत्त भट्टले बताउनुभयो । 

नगबासीमात्रै हैन, परिषदका अतिथिहरुले पनि उपमहानगरपालिले प्रस्ततु गरेको नीति तथा कार्यक्रम महत्वकांक्षी भएको टिप्पणी गरे । परिषदमा विशिष्ट अतिथि रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले महत्वाकांक्षी कार्यक्रम रहेका उल्लेख गर्दै लक्ष्य प्राप्ति चुनौतिपूर्ण रहेको बताउनुभयो । 

नगरपरिषदमा नगरबासीको सहभागिता न्यून थियो । कार्यक्रममको शुरुमै सहभागि कम थिए भने अन्त्यसम्म ५÷७ जनामात्रै सहभागि बाँकी थिए । सर्वसाधारण बस्ने कुर्सीमात्र होइन अतिथिका लागि राखिएका अधिकांश कुर्सी पनि खाली थिए ।

कार्यक्रममा रहेका अधिकाश खाली कुर्सीले कार्यक्रमको शोभा त घटाएको थियो नै उपमहानगरपालिकाले कार्यक्रमको व्यवस्थापनमा गरेको लापरवाहीलाई छर्लङ्ग देखिन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि वन तथा भू संरक्षण राज्यमन्त्री दीर्घराज भाट, विशिष्ट अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाल, लक्ष्मीनारायण मन्दीरका श्री १००८ स्वामी देवराज आचार्यलगायत अतिथिहरु कार्यव्यस्थता भन्दै कार्यक्रमको शुरमै परिषदको सफलताको कामना गर्दै निस्किएका थिए ।

अन्य अतिथिहरु पनि आफुले बोलिसकेपछि कार्यक्रमबाट विदा माग्र्दै गएपछि अन्त्यतिर अतिथि दीर्घा पनि खाली भएको थियो । नगर परिषदमा नगरबासीको न्यून सहिभागिता हुनुलाई कतियले उपमहानगरपालिकाको कार्यक्रम व्यवस्थापनमा कमजोरी भनेका छन् भने कतिपयले नगरबासीले नै विकास निर्माणका कार्यमा उत्तरदायी  नभएको भनि टीप्पणी गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री भाटले नगर क्षेत्रको विकासका लागि नगरबासीले खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय धनगढीमा ठूला परियोजनाहरु संचालन भईरहेका उल्लेख गर्दै उहाले धनगढीलाई आधुनिक सहरको रुपमा विकास गर्न विकास निर्माणका काममा नगरबासीको सहयोग आवश्यक रहेको औंल्याए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!