पाल्पाको एक विद्यालयलाई बस सहयोग, भवन निर्माण सुरु

Posted on: 17 Jan, 2017

माघ ४, पाल्पा । भूपू सैनिक राइजिङ इङ्गलिस स्कुल, रामपुर पाल्पालाई एउटा बस सहयोगस्वरुप प्राप्त भएको छ । 

भारतीय राजदूतावास, काठमाडौँले ३३ सिट क्षमता रहेको विद्यार्थी बोक्ने बस सहयोग गरेको हो । टाढाका विद्यार्थीलाई दैनिक आवतजावत गर्न समस्या भएपछि स्कुलसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले भारतीय राजदूतावास काठमाडौँ नेपालले बस सहयोग गरेको बताइएको छ । 

टाढाटाढाबाट विद्यालय आवतजावतमा विद्यार्थीलाई समस्या परेपछि विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, शिक्षक लगायतको पहलमा बस सहयोग प्राप्त भएको विद्यालयका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले सोमबार बताउनुभयो । 

प्रहरी चौकी भवन निर्माण सुरु 

यसैबीच, रामपुर नगरपालिकाको गण्डकीढिकमा केलादी प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । नेपालकै पुरानो यस केलादी प्रहरी चौकीको स्तरोन्नति र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुविधा सम्पन्न पक्की भवन निर्माण कार्य सुरु भएको छ । 

सरकारको रु एक करोड १८ लाख २७ हजारको लागतमा नयाँ पक्की भवन निर्माण हुने भएको छ । दुईतले आवास, हिरासत, शौचालय, ब्यारेक सहितको पक्की भवन बन्न लागेको हो । भवन अभावमा अस्थायी रुपमा सेवा दिन यस प्रहरी चौकीबाट समस्या परेपछि नयाँ पक्की भवन बनाउन लागिएको प्रहरी चौकीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!