विद्यालय पूर्वाधार निर्माणका लागि दुई करोड सहयोग

Posted on: 23 Jan, 2017

माघ १०, म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माणका लागि एक संस्थाले करिब रु दुई करोड सहयोग गरेको छ । 

गोर्खा वयलफेयर परियोजनाले तीन वटा विद्यालयको नयाँ भवन निर्माण र चार वटा विद्यालयको भवन मर्मतका लागि रु एक करोड ८६ लाख सहयोग गरेको हो । 

मुदीको वुद्धिविकास माविलाई रु एक करोड, ओखरबोटको सिद्धार्थ आधारभूत विद्यालयलाई रु ७५ लाख ९३ हजार र देवीस्थानको भिम माविलाई रु १५ लाख सहयोग गरिएको परियोजनाले जनाएको छ । 

परियोजनाको सहयोगमा वुद्धि विकास र सिद्धार्थमा छछ कोठे पक्की तथा भिम माविमा तीन कोठे एक तले कक्षा कोठा भवन निर्माण सुरु भएको परियोजना बेनीका प्रमुख खेम गुरुङले बताउनुभयो । 

यसै वर्ष निर्माण सम्पन्न हुने गरी काम अघि बढाइएको तीन वटै भवन भूकम्प प्रतिरोधात्मक क्षमताको बाल तथा अपाङ्गमैत्री हुनेछन् । यसैगरी सो संस्थाले भूकम्पबाट क्षति पुगेको भवन मर्मतका लागि पाउद्वार माविलाई रु तीन लाख र सारदा आधारभूत विद्यालय अर्मनलाई रु दुई लाख ५० हजार सहयोग गरेको छ । राम्चेको काफलडाँडा आधारभूत विद्यालयले भवन मर्मतका लागि रु तीन लाख र झिँको महेन्द्र माविमा फर्निचर व्यवस्थापनका लागि रु दुई लाख अनुदान पाएको छ । 

यस्तै गोर्खा वेयलफेयरले यस वर्ष शिख–२ किन्दुस्थित दरखोलामा ससपेन्सन पुल निर्माण गर्ने भएको छ । ७७ मिटर लामो पुल निर्माण गर्न वेयलफेयरले रु ४७ लाख ४४ हजार ७५६ बजेट स्वीकृत गरेको क्षेत्रीय प्रमुख गुरुङले बताउनुभयो । नयाँ भवन र पुल निर्माण तथा मर्मतका योजना आगामी बर्खाअघिनै सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । 

वयलफेयर र कादुरी परियोजनाले बेलायती गोर्खा सैनिकको बसोबास रहेको म्याग्दीका विभिन्न गाउँमा लघुजलविद्युत् परियोजना, विद्यालय भवन, खानेपानी आयोजना र झोलुङ्गे पुल निर्माणमा सहयोग गर्दै आएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!