भक्तपुरमा गणेशमन्दिर निर्माणका लागि महायज्ञ

Posted on: 25 Jan, 2017

माघ १२, भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका सिकारीटारस्थित अनन्तविनायक गणेश मन्दिर निर्माणार्थ आयोजना भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु ३३ लाख २१ हजार सङ्कलन भएको छ । 

यही माघ ३ गतेदेखि सुरु भई मङ्गलबार सम्पन्न भएको महायज्ञमा करिब रु १६ लाख खर्च भएको र बचत भएको रु १७ लाख मन्दिर निर्माण कोषमा राखिने महायज्ञ आयोजक समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । 

कलात्मक एवम् प्यागोडा शैलीमा निर्माण हुने मन्दिरका लागि करिब रु ३० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिँदै उहाँले मन्दिर निर्माणका लागि नपुग रकम भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद रामेश्वरप्रसाद ढुङ्गेल, पूर्वसहायकमन्त्री एवम् सांसद दिनेश श्रेष्ठले सांसद विकास कोषबाट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । 

श्री स्वस्थानी महात्म्यको अवसर पारेर आयोजना भएको महायज्ञमा पूर्वमन्त्री महेश बस्नेतले रु २० हजार सहयोग गर्नुभएको उहाँले बताउनुभयो । महायज्ञमा नानीरत्न विदुषी अनुराधा शास्त्रीले कथावाचक गर्नुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!