प्राधिकरणको रु दुइ करोड बक्यौता असुली

Posted on: 27 Jan, 2017

माघ १४, मोरङ । समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ । 

प्राधिकरण विराटनगर प्रमुख शम्भु कुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको अवधिमा प्राधिकरण विराटनगर शाखाले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुलेको हो । 

लामो समयदेखि बिल नतिर्ने तीनसय ६० ग्राहकको लाइन काटेकामा तीनसय २५ जनाले रकम तिरेर पुनः लाइन जडान गरेपछि सो रकम असुल भएको प्राधिकरणका विराटनगर प्रमुख यादवको भनाइ छ । १० हजारभन्दा बढी रकम नतिर्ने ग्राहकको लाइन काट्ने गरेको समेत उहाँको भनाइ छ । 

२७ करोड बढी राजस्व सङ्कलन 

यसैबीच, मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ । मालपोत कार्यालय विराटनगरका प्रमुख नरेन्द्र पौडेलका अनुसार कार्यालयले ६ महिनाको अवधिमा घरजग्गा रजिस्ट्रेसन पास गरेबापत रु २४ करोड ५५ लाख ९४ हजार राजस्व सङ्कलन गरेको हो । 

त्यसैगरी, दृष्टि बन्धक नामसारीबाट रु दुई करोड ७० लाख ४५ हजार राजस्व उठाएको प्रमुख पौडेलको भनाइ छ । कार्यालयले पुर्जा बिक्रीबाट रु २१ लाख र रोक्का दस्तुरबाट रु ३८ लाख सङ्कलन गरेको छ । गत आवमा भूकम्प, नाकाबन्दी लगायतका कारणले जम्मा रु साढे ३४ करोड मात्रै राजस्व सङ्कलन गरेको सो कार्यालयका प्रमुख पौडेलको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!