खलङ्गा-पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु

Posted on: 31 Jan, 2017


माघ १८, जाजरकोट । निर्माणाधीन जाजरकोट—जुम्ला सडकको खलङ्गा—पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले काम छिटो गर्नुहोस् बजेट अभाव हुँदैन भनेपछि स्तरोन्नतिको काम सुरु गरिएको हो । जिल्लाका दर्जनौँ सडकमा अहिले थप बजेटको व्यवस्था समेत गरिएको छ ।

सडक डिभिजनकोएक करोड ९८ लाख रुपैयाँको लागतमा सडक निर्माण कार्य सुरु गरिएको छ। सडक निर्माणको जिम्मा मृत सन्जिवनी खड्का कृष्ण जेभी कन्स्ट्रक्सनले लिएको छ। दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो ।

खलङ्गा—पाँचकाटिया सडकखण्डभित्र रहेको २१ किलोमिटर दूरीमा एक लाख ३६ हजार घनमिटर माटो कटिङ, माटो फिलिङलगायतको काम गरिने ठेकेदार रत्न खड्काले बताए ।

यो सडकमा जिप र ट्र्याक्टर हिउँदको समयमा गुड्ने गर्दछन्। सडकको स्तर वृद्धि गर्न थालेपछि स्थानीय खुसी भएका छन् । यो सडकमा ट्र्याक ओपन गर्दा २१ किलोमिटरमा सात करोडभन्दा बढी खर्च भइसकेको छ। अहिले सडकको स्तर वृद्धि नभएका कारण बर्सेनि स्थानीय समस्या भोग्दै आएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!