पाल्पाको गजरकोटमा बिजुली पुगेपछि स्थानीय खुसी

Posted on: 01 Feb, 2017

माघ १९, रामपुर (पाल्पा) | लामो समयको प्रयत्नपछि बर्षौंदेखि टुकीको भरमा जीवन गुजारा गर्दै आएका गजरकोट–९ का स्थानीयले गाउँमा बिजुली बत्ती बलेपछि खुसी व्यक्त गरेका छन् । 

बिजुली बाल्नका लागि यहाँका स्थानीयले काम सुरु गरेको तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँमा बिजुली बाल्न सफल भएका हुन् । वडाका डुम्रीबेँसी, अदमारा, पल्लोडिही, खनालडाँडा, पाखेडाँडा बगैँचा, हरिवन, थामडाँडा, पल्लावारी गाउँ अहिले बिजुलीले झिलीमिली बनेको छ । बिजुली बत्ती बलेपछि यहाँका १८५ घरधुरीका स्थानीय लाभान्वित भएका छन् । 

स्थानीयको निरन्तर प्रयास र मेहनतले चाँडै नै गाउँमा बिजुली बत्ती बलेको स्थानीय रामप्रसाद श्रेष्ठले बताउनुभयो । गाउँमा बिजुली बलेपछि टिभी हेर्न, रेडियो बजाउन, मोबाइल चार्ज गर्न, सस्तो मूल्यमा मिलमा कुटानी पिसानी गर्न सजिलो भएको स्थानीय बताउँछन् । 

नेपाल विद्युत् प्राधिकरण, जिविस, सांसद विकास कोष र त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोग र स्थानीय उपभोक्ताको श्रमदान गरी रु ४२ लाखको लागतमा ११ केभी क्षमताको लाइनबाट बिजुली बाल्न सफल भएको भीमकाली मोटरमार्ग विद्युत्लाइन उपभोक्ता समितिका अध्यक्ष दीलप्रसाद तिवारीले बताउनुभयो । 

अक्षयकोष स्थापना 

यसैबीच, अंशुवर्मा माध्यमिक विद्यालय, सहलकोट, पाल्पामा पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना भएको छ । 

पूर्वविद्यार्थी डा प्रमिला दर्लामीले रु ६० हजार ९९९ को अक्षयकोष स्थापना गर्नुभएको छ । विकट र दुर्गममा सञ्चालित यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!