रोल्पाका ७८ प्रतिशत सहकारी सक्रिय

Posted on: 03 Feb, 2017

माघ २१, रोल्पा । रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् । 

जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ । 

जिल्लामा दर्ता भएका सहकारीमध्ये ४३ बचत तथा ऋण, ६ बहुउद्देश्यीय, स्वास्थ्य, सामाजिक उद्यमी, मौरीपालन, जडीबुटी र उपभोक्ता गरी एक÷एक सहकारी छन् भने ८५ वटा कृषि सहकारी रहेका छन् । 

जिल्लामा महिलाले व्यवस्थापन गरेका सहकारी सङ्ख्या २० रहेको छ । निष्क्रिय सहकारीमध्ये अधिकांश कृषि सहकारी रहेको बताइएको छ । गाउँगाउँमा सहकारी, घरघरमा रोजगारीको नाराअनुरुप सहकारी संस्थालाई रु एक लाख अनुदान दिने गरी सरकारले कार्यक्रम ल्याएको समयमा दर्ता भएका र खासै कारोबार नगरेका सहकारी निष्क्रिय रहेको सहकारी अभियन्ता एनार्जन घर्तिमगरले बताउनुभयो । 

सहकारी संस्थाको छाता सङ्गठनका रुपमा जिल्लामा जिल्ला सहकारी सङ्घ, जिल्ला कृषि सहकारी सङ्घ र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ पनि क्रियाशील रहेका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!