लैखमको खानेपानी सपना कहिले पुरा हुने ?

Posted on: 03 Feb, 2017

माघ २१, जाजरकोट । बाजेको पालादेखि यहाँको लैखम गाउँका स्थानीयवासीले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा हुन सकेको छैन । 

जिल्लाको सक्ला–१,लैखम गाउँका दुईसयभन्दा बढी खत्री परिवारले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा नभएको स्थानीयवासी रमेश केसीले जानकारी दिनुभयो । 

प्रत्येक वर्ष योजना नमागेको कुनै परिषद् नै हुँदैन तर कहिले पनि यो योजनामा कसैको ध्यान नगएको उहाँले बताउनुभयो । बाजे र बाबाले मागेको योजना नातिको पालासम्म माग्दा पनि पूरा नहुँदा आफू निकै दुःखी भएको केसीले रासससँग पीडा सुनाउनुभयो । लैखम गाउँमा पानी ल्याउनका लागि स्थानीय नौपानी मूलबाट करिब चार किलोमिटर पाइप जडान गरेपछि मात्र स्थानीयवासीको गाउँमा पुग्ने उहाँको भनाइ छ । 

योजना माग्नका लागि गाउँलेबाट रकम उठाएर सिंहदरबार गएर मन्त्रीलाई भने पनि मागको सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । कुरा गर्दा ठिक्क पार्छन् तर कार्यान्वयन कहिले पनि नभएको स्थानीयवासी प्रेम केसीले पीडा सुनाउनुभयो । पानीको अभावमा यहाँका स्थानीयवासी घन्टाँै लगाएर खुल्लारुपमा बग्ने रिमखोलामा गएर मानिस र पशुचौपायासँगै पानी खाने गरेको केसीको भनाइ छ । 

“माथिल्लो गाउँका लागि २०५२ सालमा निर्माण गरिएको खानेपानीका धारामा अहिले पानी नै आउँदैन जहिले पनि उही पानीको पीडा, म अहिले ९० वर्षको भए, समाधान कहिले पनि हुँदैन”, स्थानीय वृद्ध मुक्तिसरा खत्रीले आक्रोशित हुँदै भन्नुभयो । हामीले खानेपानीका लागि धेरै पटक नेतालाई भनेपनि हाम्रा नातिको पालासम्म खानेपानी नपाएको कपाल फुलेकी मुक्तिसराले बताउनुभयो । 

यस ठाउँमा खानेपानी ल्याउनका लागि करिव रु ६० लाखभन्दा माथिको रकम भएमा मात्र सबै गाउँलेको बस्तीमा पानी पुग्ने देखिन्छ । सबै खत्री मात्र बस्ने यो गाउँमा अधिकांश स्थानीयवासी पशुपालन व्यवसाय गर्दै आएका छन् । पानीको अभावमा यहाँका किसानका जमिनमा एक मात्र बाली लगाउने गरिन्छ । 

सिँचाइ भएको भए वर्षमा दुई बाली लगाएर उत्पादन बढाउन सकिने सम्भावना रहेको यहाँका खत्रीले बताएका छन् । सिँचाइको अभावमा यहाँका किसानका जमिन हिउँदयाममा बाँझै हुने गरेका छन् । बर्खायाममा आकाशको पानीको भरमा मकैबाली लगाउने यहाँका खत्री बर्सेनि आकाशकै पानीको भरमा खेती गर्दै आएको बताउँछन् । 

छिमेकी गाउँमा सिँचाइ गरी जमिनभरि हरियो बनाई वर्षमा दुई बाली लगाएको र आफ्नो जमिन बाँझै देख्दा मन रुने गरेको यहाँका किसानको भनाइ छ । बोकेर ल्याएको पानीले शौचालयसमेत प्रयोग गर्न निकै समस्या भएको छ । 

खानेपानी नहुने लैखम गाउँमा शौचालयमा कसरी पानी पु¥याउन सकिन्छ ? स्थानीय शिक्षिका भावना वली खत्रीले प्रश्न गर्नुुभयो । विद्यालयमा समेत खानेपानी नभएका कारण विद्यार्थीलाई समस्या हुँदै आएको छ । घरबाट बोतलमा बोकेर ल्याएको पानीले सबैलाई पु¥याउन नसकिने हुन्छ, एकसयभन्दा वढी विद्यार्थी पानीको अभावले हैरान हुने गरेको उहाँले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!