मोरङ जिल्लामा अनुदानका १३ वटा विकास योजना छनोट

Posted on: 06 Feb, 2017

माघ २४, मोरङ । सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा पुँजीगत अनुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन् ।

जिल्ला विकास समिति, मोरङका अनुसार विराटनगर उपमहानगरपालिकाको दुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको हो ।

जिविस मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार योजनाहरु गाउँ परिषद्, नागरिक वडा मञ्च तथा जिविस समितिले गाउँगाउँमा अनुगमन गरी योजना छनोट गरिएको हो ।

जिविसका इन्जिनियर घनश्याम दाहालका अनुसार योजनाहरु महादेवा, झुर्किया, वर्डगा, डायनिया, सोराभाग, बुधनगर, मझारे गाविस तथा विराटनगर उपमहानगरपालिका र रङ्गेली नगरपालिकाका केही वडामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत योजना छनोट भएका हुन् ।

कार्यक्रमअन्तर्गत महत्वपूर्ण सडकमा कालोपत्रे गर्ने, पुल पुलेसो तथा कलभर्ट निर्माणदेखि सिँचाइका लागि सौर्य ऊर्जाबाट सिँचाइ सञ्चालनमा ल्याइने योजना छनोट भएका छन् ।

स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले जनतालाई बढी लाभ हुनेखालका र सबैले देख्नेखालका महत्वपूर्ण योजना छनोट गरेर काम गर्ने बताए। उनले चाँडै काम सम्पन्न भए थप बजेटका लागि आफूले पहल गर्नेसमेत बताए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!