अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि ४३.५६ लाख अक्षयकोष

Posted on: 10 Feb, 2017

अमृत बास्तोला/माघ २८, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि ४३ लाख ५६ हजार ६ सय २३ रुपैया अक्षयकोष संकलन भएको छ । 

“गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन अक्षयकोष अभियान सहित रजत महोत्सव विद्यालयले संचालन गरिरहेको छ । 

रजत महोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्न आउने दाताहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ । शुक्रबार मात्रै तेह्रथुमको ईवा घर भई हाल जापन निवासी दिपक ईङनाम र रजनी ईङनामको दम्पतिले ३० हजार १ सय पाँच रुपैया अक्षयकोष स्थापना गर्नु भएको छ । 

अहिले सम्म ४ सय ९१ दाताहरुले अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापनका लागि विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । महोत्सवको अवसरमा विभिन्न राशिका अक्षयकोष स्थापना गर्ने दर्जनौं दाताहरुलाई चाँदीको रजत महोत्सव मेडल सहित, सम्मान पत्र, पूmलमाला, दोसल्ला, खादा र अविरले सम्मान गरिएको छ । 

विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीहरुको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरुगरे हो । वर्तमान समय कम्प्युटरको युग भएकाले विज्ञान र प्रविधिमा विद्यार्थीको आधारभूत सैद्धान्तिक र व्यावहारिक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गरिएको प्रधानाध्यापक जयप्रकाश ईङनामले जानकारी दिनु भयो । 

शैक्षिकसत्र २०७० देखि नै विद्यालयले दुईहजार आठसय वाटको सोलार प्रविधि जडान गरी विद्यालयमा आधाभूत कम्प्युटर शिक्षा सञ्चालन गरिरहेको छ । आजको युग उच्च प्रतिस्पर्धाको युग भएकाले विद्यार्थी जुनसुकै ठाउँमा पनि प्रतिस्पर्धामा योग्य बनाउने अभिप्राय र अंग्रेजी भाषाको विश्वव्यापीकरणका साथै अभिभावकको अंग्रेजी माध्यमप्रति आकर्षण र अभिरुचिलाई मध्यनजर गरेर शैक्षिकसत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रधानाध्यापक इङनामको बताउनु भयो । 

विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिरहेको छ । महोत्सवबाट ५० लाख रुपैया सम्म अक्षयकोष स्थापना हुन सक्ने विद्यालयले लक्ष्य लिएको प्रधानाध्यपक ईङनामले जानकारी दिनु भयो । अक्षषकोषको ब्जायबाट विद्यलायमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापन गरिने विद्यालयले जनाएको छ । 

विद्यालयमा सबै भन्दा ठूलो अक्षयकोष ताप्लेजुङको हाम्पाङ गाविस घर भई हाल तेह्रथुमको ईवा गाविस निवासी तेजमान याक्सो र सेविका याक्सोका दम्पतिले १ लाख ५० हजार ५ सय ५५ रुपैया स्थापना गरिदिएका छन् । १ हजार रुपैया देखि माथि समाजसेवी दाताहरुले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । शनिवार सम्म संचालन हुने रजत महोत्सवमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु संचालन भईरहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!