इनभेष्टमेण्ट बैङ्कबाट २४ लाख रुपैया गायब

Posted on: 12 Feb, 2017
दिनेश ठकुल्ला | फागुन १, धनगढी | कैलालीको धनगढी स्थित इनभेष्टमेण्ट बैङ्क लिमिटेडबाट करिब २४ लाख रुपैया गायब भएको रहस्य बाहिर आएको छ ।
बैङ्कको शाखा कार्यालय स्थित एटीएममा राख्नका लागि तयार पारिएको रुपैया एटीएममा नराखी शुक्रवार गायब पारिएको समाचार स्रोतले जनाएको छ । ठूलै रकम गायब भएपछि आवश्यक सोधपुछका लागि बैङ्ककका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योती पाण्डेय हेलिकप्टर चार्टर गरेर धनगढी पुग्नु भएको छ । उहाँले बैङ्कका कर्मचारीसंग सोधपुछ गरिरहेको जनाइएको छ । बैङ्कले उक्त घटनालाई अहिलेसम्म गोप्य राखेको र भित्रभित्रै मिलाउन खोजिएको समाचार स्रोतको दावी छ । 
आइतवार बैङ्क खोल्नु पर्ने भएपछि मात्रै घटनाले खैलाबैला मच्चाएको छ । बैङ्ककको रुपैया गायब भएसंगै लगाइएको ताल्चाको चावी समेत गायब पारिएको छ । आइतवार बैङ्कका कर्मचारीले ताला तोडेर बैङ्क खोलेका थिए । घटनालाई लुकाउन खोजिए पनि बैङ्कका म्यानेजर राजेन्द्रबहादुर सिंहले आवश्यक छानविनका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बैङ्कले पत्र लेखेको स्वीकार गर्नुभयो । 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बैंककै घटना शंकास्पद देखिएकाले शंका लागेका बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले एटीएममा तोडफोड समेत नभएको उल्लेख गर्दै घटनाबारे छानविन भइरहेको जानकारी दिनुभयो । अनुसन्धान जारी रहेकोले प्रहरीले नियन्त्रणमा लिएको कर्मचारीको नाम खुलाइएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!