तिनाउ नदिमा एक दर्जन पुल बन्दै

Posted on: 18 Feb, 2017

फागुन ७, रुपन्देही । बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ । 

तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्माण सुरु भएको हो । तीमध्ये बुटवल झोलुङ्गेपुल नजिकैको बाहेक अरु सकिएका छैनन् । हाल ११ पुल निर्माणाधीन रहेको कार्यालयले जनाएको छ । 

पाल्पाबाट आएको तिनाउ नदी बुटवल हुँदै रुपन्देहीका विभिन्न गाविस भएर बग्छ । खास गरी वर्षाद्मा तिनाउ वारपार गर्न कठिन हुने भएकाले धमाधम पुल निर्माण गरिएको कार्यालयका प्रवक्ता इन्जिनियर जयलाल मरासिनीले बताउनुभयो । तिनाउ र दानव नदीमा मात्रै रु ९९ करोड ३८ लाखको लागतमा पुल निर्माण भइरहेका छन् । 

पूर्वपश्चिम राजमार्गबाट लुम्बिनी जोड्न बनेका सडकमा धेरै पुल निर्माण भएका छन् । विसं २०६७ देखि निर्माण सुरु भएका सबै पुल २०७६ सालमा सम्पन्न हुने बताइएको छ । यी पुलले रुपन्देहीका ग्रामीण क्षेत्रलाई बुटवलसँग नजिक बनाउने अपेक्षा गरिएको छ । 

बुटवल–१३ देवीनगर र मोतीपुर जोड्ने पुलको काम केही महिना सक्ने गरी अगाडि बढाइएको छ । वाणिज्य क्यापस नजिकै रहेको झोलुङ्गे पुल गत वर्ष आएको बाढीले बगाएपछि उक्त पुल निर्माणलाई तीव्रता दिइएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!